डाक्टर केसीका माग प्रति गम्भीर बन्न सरकारलाई आग्रह

डाक्टर केसीका माग प्रति गम्भीर बन्न सरकारलाई आग्रह

विराटनगर, लोकतान्त्रिक विमर्शका लागि ‘साझा सवाल साझा मंचले भर्चुअल संवादमार्फत डा. गोविन्द केसीको जीवन रक्षाको मागसहित केसीले उठान गरेको माग र सत्याग्रहलाई समर्थन एवम् ऐक्यबद्धता जनाएको छ । प्रदेशसभाका सांसदहरू, प्राध्यापक, बुद्धिजीवी, सामाजिक अभियन्ता, अधिवक्ता, पत्रकार, राजनीतिक दलका प्रतिनिधिलगायत सहभागीले डा. केसीको माग जायज भएकोले सरकारले अविलम्ब पूरा गर्नुपर्ने बताएका छन्।

प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दल, प्रदेश न. १ का सचेतक सुयर्माराज राईले डा. केसीले उठान गरेको मुद्दा देश र जनताको हितमा भएकाले माग पूरा गर्न सरकारले विलम्ब गर्न नहुने बताउनु भयो । समाजवादी विचार धाराको जगमा निर्माण भएका राजनीतिक दलहरुले सत्ता सञ्चालनका बेला आफ्नो मूल विचारलाई उपेक्षा गरेको छ’(सचेतक राईको कथन थियो। राईले अगाडि भन्नुभयो (‘शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी आदि जनताको आधारभूत आवश्यकताको जिम्मेवारी सरकारको हो तर सरकार र राजनीतिक दलले आफ्नो मर्म र धर्मबाहिर गइदिंदा देशमा विकृतिको थुप्रो लागेको छ।’ शिक्षा, स्वास्थ्यजस्ता देश र जनताको दूरगामी प्रभावका क्षेत्रलाई राष्ट्रियकरण गर्नुपर्ने राईको जिकिर थियो ।

प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा बढ्दो माफियाकरणको अन्त्य गर्दै जनताको सुलभ पहुँचमा सेवासुविधाको बिस्तार गर्नुपर्ने बताउनु भयो । ’मेडिकल माफियाको चंगुलमा परेको स्वास्थ्य क्षेत्रलाई नवजीवन दिन केसीको माग संजीवनी बुटी हो। अविलम्ब माग पूरा गरेर सरकारले लोकतन्त्रको भावनाको सम्मान गर्नुपर्छ’ सरावगीले भन्नुभयो ।

अर्का प्रदेशसभा सदस्य नवोदिता चौधरीले सरकार डा. केसीको माग पूरा गर्नतर्फ नलागेको बरु केसीको ज्यानको दुश्मन बनेको बताउनु भयो । ‘जीवन मरणको स्थितिका केसीलाई सरकारले मरे मरोसजस्तो उपेक्षित व्यवहार गरेको छ’ सांसद चौधरीको भनाइ थियो।

यसैगरी प्रदेशसभा सदस्य लिला सुब्बाले डा. केसी गान्धीको बाटोमा हिंडेको उल्लेख गर्दै आज सरकारले वेवास्ता गरे पनि एउटा विन्दुमा गएर जित निश्चित हुने बताउनु भयो । ‘केसीको मागले देश र जनताको बोली बोलेको छ। यो बोलीको अन्तरध्वनी नसुन्ने जुनसुकै शक्ति एकदिन पत्तासाफ हुने निश्चित छ। सरकारले अहिले त्यही बाटो रोजेको देखिन्छ।’

प्राध्यापक बाबुराम तिम्सिनाले डा. केसीले समातेको बाटोले देशको काया फेर्ने भन्दै नवपुस्ताको लागि भने अथाह प्रेरणाको स्रोत भएको बताउनु भयो । ’महात्माले हिड्ने बाटो हो डा. केसीको बाटो, असल शासकले महात्माको वाणीलाई श्रवण र पालन गर्नुपर्छ’ तिम्सिनाले भन्नुभयो ‘सरकारले केसीको माग पनि पूरा गर्नुपर्छ, जीवनको रक्षा पनि गर्नुपर्छ’ ।

एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालले डा. केसीलाई सरकार नन्दप्रसाद अधिकारीको नियतिमा पुर्‍याउन लागि रहेको बताउनु भयो । मोरङ कांग्रेसका अगुवा नेता गोपालमानसिंह राजभण्डारीले डा. केसीको जीवनको रक्षा पहिलो शर्त भएको बताउँदै माग पूरा गर्न सरकारसँग माग गर्नुभयो ।

मानवअधिकार शान्ति समाजका अध्यक्ष डिल्ली कार्कीले जायज मागलाई पूरा गर्न सरकार उदासीन देखिनु रहस्यमय भएको बताउनु भयो । मानव अधिकार संजालका संयोजक डिग घिमिरेले सरकार केसीलाई मृत्युको मुखमा धकेल्न उद्दत भएको बताउनु भयो ।

चिकित्सक आरपी बिच्छाले स्वास्थ्य क्षेत्रमा भएको वेथितिको अन्त्य नै जनताको जित हुने भएकोले सरकारले सुन्दैन भने आमजनताले डा. केसीको मुद्दालाई आफ्नो मुद्दा बनाएर लड्नुपर्ने धारणा राख्नुभयो ।

युवा नेता यदु बिष्टले जनता र देश्को हितमा भन्दा माफियाको हितमा सरकारले पक्षपोषण गरेको आरोप लगाउनु भयो ।
प्राध्यापक शैलेन्द्र सिवाकोटीले राजनीतिक दलहरुको मौनताले अचम्मित बनाएको बताउनु भयो ।

कार्यक्रममा प्राध्यापक गोविन्द गुरागाइ, वेदप्रसाद संग्रौला, सामाजिक अभियन्ता सुबोध निरौला, दिपक चापागाईं, शान्ता रिजाल, सुधीर अर्याल, राजु मास्के, पेशागत क्षेत्रका शिव कोइराला, केशव निरौला, डा. मदन कोइराला, महिला अधिकारकर्मी भगवती पौडेल, शोभा पालुङ्वा आदिले डा. केसीको मागको समर्थन गर्दै सत्याग्रहमा ऐक्यबद्धता जनाउनु भएको थियो ।

लोकतान्त्रिक विचार मन्थन र सामाजिक मुद्दामा बहस पैरवी गर्दै आएको लोकतान्त्रिक विमर्शका लागि ‘साझा सवालः साझा मंच’को यो विमर्शको १२ औं शृङ्खला हो।

सम्बन्धित खवर