तनहुँका कृषकलाई कृषि बीमामा अनुदान

तनहुँका कृषकलाई कृषि बीमामा अनुदान

तनहुँ : पशुपंक्षी र बाली बीमामा किसानको आर्कषण बढाउन बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको शतप्रतिशत अनुदान उपलब्ध गराउने योजना ल्याइएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले चालु आर्थिक बर्ष २०७७÷७८ को वार्षिक योजना सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारकोतर्फबाट प्रिमियममा २५ प्रतिशत अनुदान थप्दै निःशुल्क पशुपंक्षी र बाली बीमाको व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

यो योजना तनहुँमा मात्र नभएर गण्डकी प्रदेशभर लागु हुनेछ ।कृषि ज्ञान केन्द्रले वाली बिमा कार्यक्रमलाई १२ लाख रुपैयाँ र भेटेरिनरी अस्पतालले पशुपंक्षी बीमाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

२०६९ सालमा कृषि बीमा कार्यक्रम सुरु हुँदा सरकारले किसानलाई प्रिमियमको ५० प्रतिशत अनुदान उपलब्ध गरायो । आर्थिक वर्ष २०७१÷७२ मा २५ प्रतिशत थप गर्दै त्यसपछि प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ । ७५ प्रतिशत संघिय सरकारबाट दिइने अनुदान हो । कृषि बीमाबारे अनविज्ञ हुँदा किसानको आर्कषण बढ्न सकिरहेको छैन् । बीमाको पहुँचमा किसान नभएपछि करोडौँ रुपैयाँको लगानी जोखिममा छ ।

गत साउन यता सरकारबाट मान्यता प्राप्त विमा कम्पनीबाट बीमा गराएका किसानलाई विमामा शतप्रतिशत अनुदान दिने भेटेरिनरी अस्पतालका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । ‘प्रिमियम तिरेको रकमको रसिद, विमा गराउने प्राविधिक र स्थानिय तहको सिफारिस, विमा कम्पनीले जारी गरेको पोलेसीसहित बिमा गर्दा ट्याग लगाएको फोटोसहितका कागजपत्र कार्यालयमा पेश गरेपछि किसानले तिरेको २५ प्रतिशत प्रिमियम भुक्तान गर्छौ’, उनले भने ।

किसानहरुले भने सरकारबाट पाउने अनुदान र बीमा कम्पनीको कागजी प्रकृया झन्झटिलो भएको बताउँछन् । व्यास नगरपालिका–१ भादगाउँका कुखुरापालक किसान खेमराज अधिकारी बीमा कम्पनीले क्षति भएको महिनौँसम्म फिर्ता दिनुपर्ने रकम नपाएको बताउँछन् ।

सम्बन्धित खवर