उर्लाबारी, उर्लाबारीमा टर्मिनल भवनसहितको अत्याधुनिक बसपार्कको निर्माण कार्यका लागि सम्झौता भएको छ । ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसामा सम्झौता गरिएको उक्त परियोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वडा नम्बर ६ स्थित नगरपालिकाको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने यो आयोजनालाई उर्लाबारीबाट सहायक मार्गमा चल्ने तथा पूर्वपश्चिम ‘एसियन हाइ–वे’ रूटका सवारीसाधनलाई व्यवस्थापन गर्नुका साथै नगरको शौन्दर्यीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
गत आइतबार अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि.हेटौंडासँग निर्माण सम्झौता गरिएको हो । सम्झौतामा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमले हस्ताक्षर गरेका छन् ।
दुवैजनाले सम्झौतापत्र नगर प्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख मीना खतिवडा पौडेललाई हस्तान्तरण गरेका थिए ।
परियोजना लागतमा नगरपालिकाले ३० प्रतिशत साझेदारी गर्नेछ भने १० प्रतिशत नगर विकास कोषको अनुदान र ६० प्रतिशत नगर विकास कोषको ऋण रहनेछ ।
सम्झौता कार्यमा उर्लाबारी १ का वडाध्यक्ष तिलककुमार पाण्डे, नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख विकाश दाहाल, इञ्जिनियरद्वय पोखराज साह र रोशन उदासको उपस्थिति रहेको थियो ।
नगरवासीलाई आधुनिक बसपार्कको सुविधा उपलब्ध गराउने हेतुको यस आयोजनालाई उर्लाबारी नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहने नगर प्रमुख खरेलको भनाई छ ।