पोखरा : सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५ जना स्वास्थकर्मी छन् ।
असोज १ गतेअघि सार्वजनिक यातायात चलेका थिएनन् । लामो यात्रा गरेका, भारत वा अन्य विदेशबाट आएकाहरुको पहिचान सहज थियो । सार्वजनिक यातायात संचालनमा आएपछि भने क्वारेन्टाइनमा राख्ने को हो भन्ने पहिचान गर्न गाह्रो छ । ‘अब कसलाई क्वारेन्टाइनमा राख्ने ? पत्ता लगाउनै गाह्रो छ’ ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्मा चालिसेले भने, ‘संक्रमण अब समुदायमा मात्रै देखिने भयो ।’ विद्यालयलाई क्वारेन्टाइन नबनाउने विषय उठिसकेकोले अब राख्नै परेमा पनि विकल्प खोज्नुपर्ने उनले बताए । वडाध्यक्षको सम्पर्कमा आएकाबाट क्वारेन्टाइन राख्ने काम थालिएको उनले बताए ।
स्वास्थ्यकर्मी, प्रहरी, सेनाजस्ता फ्रन्टलाइनमा खटिनेलाई संक्रमण देखिन थालेकोले सबैले आफ्नो सुरक्षा गर्नुपर्ने बाध्यता भैसकेको स्वास्थ्यकर्मीनै बताउँछन् । ‘कोसँग संक्रमण छ भन्ने कुरा लक्षण देखिएमा मात्रै थाहा हुन्छ, अन्यथा हरेक नागरिकमा पिसिआर गर्नुपर्छ’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयले पनि यो विषयमा कुनै गाइडलाइन बनाउन सकेको छैन ।’ देशभर यातायात संचालन भएकोले जिल्लाको गाइडलाइनले गाउँमा काम नगर्ने समेत उनले बताए ।
बागलुङ नगरपालिकाले भने भारतबाट तराई वा शंकास्पदलाई क्वारेन्टाइनमा राख्ने कामलाई निरन्तरता दिएको छ । ‘भारतबाट आएको, समुदायमा बस्न नसक्ने वा बसाल्न नदिएको तथा अलपत्र परेको व्यक्तिलाई क्वारेन्टाइन व्यवस्थापन गराएका छौं’ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिनेश जिसीले भने, ‘सोधपुछबाट धेरै जना पत्ता लागिरहेका छन् ।’ जिल्ला प्रवेशद्वार रहेको मालढुंगामा प्रहरी, सेना र नगरपालिकाको कर्मचारी समेतबाट विशेष निगरानी गरेर क्वारेन्टाइनमा लैजाने काम भैरहेको जिसीले बताए ।
लकडाउन खुलेको र सार्वजनिक यातायात नियमित चलेकोले को मानिस बाहिरबाट आएको भन्ने यकिन गर्न भने कठिन हुने सुरक्षाकर्मीले बताए । ‘झोला भिरेको, भारतबाट आएकै हो भन्ने लागेमा हामीले सोधखोज गर्छौ’ एक सुरक्षाकर्मीले भने, ‘अस्ति सोधपुछ गर्दा एकजनाले स्विकारेपछि क्वारेन्टाइन पठाइयो ।’ सबैले सत्य बोल्छन् भन्ने थाहा नभएको उनले बताए ।
शंकास्पद स्थानबाट आएको कुराको पत्ता लगाउने पहिलो जिम्मा समुदायलाई गएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘पल्लो घर, वल्लोघरमा को आयो भन्ने कुरा समुदायलाई स्पष्ट थाहा हुन्छ’ उनले भने, ‘स्वास्थ्यकर्मी, प्रहरी वा जनप्रतिनिधिलाई खबर गरियो भने तत्काल सुरक्षित ठाउँ पठाउन सकिन्छ ।’ समुदाय सचेत भएमा मात्र संक्रमितबाट समुदायमा सर्न नदिने उपाय लगाउन सकिने उनले बताए ।
सार्वजनिक यातायातअन्र्तगत मुख्य शहरबाट लामो दुरीका सवारी चल्न थालेका छन् । रात्री तथा दिवा बस चलेकोले सिमानाबाट सजिलै मानिस गाउँ भित्रन सक्छन् । तेस्रो मुलुकबाट आएकाहरु भने त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलबाट आउने भएकोले बढी चासो हुन्छ । समयमै पत्ता लाग्न सक्छन् ।
चाडपर्व नजिक आएकोले राजधानीलगायतका स्थानबाट गाउँ फर्कनेको पनि क्रम शुरु भएको छ । ‘गाउँमा को आयो भन्ने कुरा समयमै चासो राख्न सकियो भने समयमै क्वारेन्टाइन पनि पठाउन सकिन्छ’ काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भने, ‘आएको मानिसले आप्नो इमान्दारिता देखायो भने समाज सुरक्षित बन्छ ।’ संक्रमित बढ्दा पिसिआर, आइसोलेसन लगायतका खर्चमा राज्यको लगानी बढी लाग्ने उनले बताए ।
पछिल्लो समय बिद्यालयको बिकल्पको रुपमा क्वारेन्टाइन बनाउन दवावसमेत परेको छ । त्यसैले पालिकाहरुले सार्वजनिक स्थानको खोजी गरिरहेका छन् । बागलुङ नगरपालिकाले आफ्नो रात्माटास्थित भवनलाई प्रयोगमा ल्याउन थालिसकेको छ । अन्य पालिकाले पनि विद्यालयको बिकल्प खोजेको बताए । ‘विद्यालय जतिबेला पनि खुलाउने अबस्था आउन सक्छ, अब सार्वजनिक भवनहरुको खोजी गरौं’ शिक्षा बिकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले भने, ‘विद्यालयमा निसंक्रमण गरेर तयारी अबस्थामा राख्नुपर्छ ।’ दशै तिहारपछि विद्यालय नियमित संचालन हुन सक्ने उनले बताए । त्यसका लागि सबै पालिकासँग समन्वय पनि गरिरहेको उनले बताए ।