प्रदेश १ मा आज १४३ संक्रमित थपिए, १ जनाको मृत्यु

प्रदेश १ मा आज १४३ संक्रमित थपिए, १ जनाको मृत्यु

विराटनगर, मोरङमा आज थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा ४ का ५२ वर्षीय पुरुष रहेका छन् । विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत रहेका उनको दिउँसो ३ः३० मा मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको छातीमा पनि समस्या रहेको मेडिकल कलेजका प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि शनिवार स्वाव संकलन गरिएको थियो । उनको कोरोना पोजेटिभ रिपोर्ट साँझ ६ वजे आएको राठोरले बताए । यो सगै बुढीगंगामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यता आज प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना सङ्क्रमित थपिएका छन् सो मध्ये ३१ जना महिला र ११२ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा छ, उदयपुर र प्रदेश बाहिरका एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा सङ्क्रमित देखिएको छ । जसमा एक महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा पाँच महिला र दुई पुरुष, मोरङको विराटनगरमा नौ महिला १६ पुरुष, सुनबर्षीमा दुई पुरुष, जहदा र बुढीगंगामा एकएक महिला, झापाको विर्तामोडमा आठ महिला र दुई पुरुष, कमल गाउँपालिकामा तीन महिला र सात पुरुष, मेचीनगरमा दुई महिला चार पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका एकएक महिलामा कोभिड(१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, संखुवासभाको खाँदबारीमा तीन, चैनपुरमा दुई र चिचिलामा एक पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेश बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । प्रदेशमा हालसम्ममा चार हजार २२ जना कोरोना सङ्क्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा झापाका एक महिला र विराटनगरका एक पुरुष गरी दुई जनाकोे मृत्यु भएको छ ।

हालसम्ममा यसप्रदेशमा ४२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाईसकेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज सात जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् भने यसप्रदेशमा हालसम्ममा एक हजार ८४३ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २६७ जना सहित यसप्रदेशमा हालसम्ममा ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर