प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिए

प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना सङ्क्रमित थप भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ । ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेश बाहिरका एक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङ विराटनगरका १४ महिला र १४ पुरुष, पथरी शनिश्चरेका दुई, लेटाङ, कटहरी र रंगेलीका एक एक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा हाल सम्म तीन हजार ८७९ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ जना निको भएर घरफर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसेका छन् । हालसम्ममा यसप्रदेशमा ९७ हजार २२१ पिसीआर परीक्षण गरिएको छ । रासस

सम्बन्धित खवर