ट्राफिक प्रहरी जवानलाई कुटपिट गर्ने ९ जना पक्राउ

ट्राफिक प्रहरी जवानलाई कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौँ, ललितपुरको पुल्चोकमा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।

स्थानीयहरुले निषेधाज्ञा तथा प्रहरीको चेतावनीलाई वेवास्ता गर्दै बिहीबार पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानेका थिए। त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो।सोही क्रममा भीडले मोटरसाइकलमा आइरहेका ट्राफिक प्रहरी जवान घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो।

हाल घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। झडपमा अन्य तीन प्रहरी पनि घाइते भएको राईले जानकारी दिए । ललितपुर प्रहरी परिसरका प्रमुख राईले प्रहरीमाथि भएको कुटपिटको घटनालाई आफूले गम्भीर रुपमा लिएको र त्यसमा संलग्नहरुलाई कडा कार्बाही गरिने बताए। त्यस्तै उनको स्वास्थ्य अवस्था बुझ्‍न बिहीबार साँझ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेलस्थित अल्का अस्पताल पुगेका छन् । ​

उनले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधाज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरीमाथि सामूहिक रुपमा निर्घात कुटपिट गरिनुलाई अमानवीयको संज्ञा दिए । ढकालले यो घटना अमानवीय र कानुनविपरीत समेत भएकोले घटनामा संलग्‍नलाई पक्राउ गरेर कानुनी कार्बाही गरिने बताए।

सम्बन्धित खवर