कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ ।

श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ ।

मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन् । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आज स्वास्थ्य टोली लिएर म घर मै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।”

सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । भक्तपुर जिल्लामा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित खवर