लहान बजारको फोहोर उठ्ने भयो

लहान बजारको फोहोर उठ्ने भयो

राजेन्द्र महतो, लहान

लामो समयदेखि सिरहाको लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रीएको फोहोर अब उठ्ने भएको छ । फोहोर उठाउने विषयमा लामो समयदेखि विवाद रहेका कारण फोहोर थुप्रीएको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको पहलमा आईतवारबाट फोहोर उठने कार्य शुरु भएको हो । लहान नगरपालिकाले वार्ड न ४ मा फोहोर फाल्ने डम्पिङ साइट बनाएका थिए तर वडाबासीले त्यहाँ फोहोर फाल्न नदिएपछि लामो समयदेखि विवाद चल्दै आएको थियो । पछिल्लो समय एक महिनादेखि फोहोर नउठ्दा लहान बजार क्षेत्र दुर्गन्धित बनेको छ । सिडिओ कणेलको पहलमा वडाबासी र लहान नगरपालिकाबीच फोहोर उठाउन दिने विषयमा सहमती भएपछि फोहोर उठाउन थालिएको हो ।

फोहोर लहान नगरपालिका स्थित खुट्टी र बलान नदी मिल्ने दोभानमा फाल्ने सहमती भएको बताइएको छ। सहमती भएपछि फोहोर उठ्ने कार्य शुरु भएको छ। नगरपालिकाले बनाएको डम्पिङ साइटमा अब फोहोर फालिने छैन् । बस्ती रहेकै क्षेत्रमा डम्पिङ साइट बनाएको र फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था सृजना हुने भन्दै वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको नेतृत्वमै वडाबासीले आन्दोलन गर्दै आएका थिए ।

सम्बन्धित खवर