राजेन्द्र महतो, लहान
सिरहामा लकडाउनका कारण छोराको काम गुमेपछि साग मात्र खाएर बाँचेका बिहारी शाहको परिवारलाई तरुण दल सिरहाले खाद्यान्न समाग्री सहयोग गरेको छ । पीडामा रहेको शाह परिवारको समाचारहरु विभिन्न समाचार पत्रहरुमा आउँदा नेपाली काँग्रेस निकट तरुण दलका युवा नेताहरुले शाह परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेको छ ।
सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरका बिहारी शाह (माचिबाला) को अवस्था दयनीय रहेको भन्दै तरुण दलका युवाहरुले शनिबार घरमै पुगेर सहयोग गरेका हुन् । तरुण दल सिरहाका अति सक्रिय सदस्य एवम् समाजसेवामा तल्लिन मानिएका युवा नेता समेत रहेका अरबिन्द कुमार मण्डलको विशेष सक्रियतामा साह परिवारलाई चामल २ क्वीन्टल, दाल ७ किलो, आलु १५ किलो, प्याज ५ किलो, तेल ५ लिटर, नुन १० किलो, साबुन १ दर्जन र मसालाहरु सहितको समाग्री सहयोग गरेका छन् ।
विगतदेखि नै समाजिक कार्यमा सक्रिय रहेका युवा नेता मण्डलले समाचार पत्रमा शाह परिवार उम्लेको साग खाएर जीवन काटिरहेको समाचार देखेपछि उनको समूहले सहयोगको भावना बनाएको बताएका छन् । उनले भने “अनलाईनमा उहाँको बारेमा समाचार पढे, उहाँको अवस्था बारे जानकारी पाए र हामी तरुण दलका युवा नेताहरुको सहल्लाहमा यस्ता परिवारलाई सहयोगको खाँचो औल्याउँदै खाद्यान्न लिएर उनको घरमै पुग्यौं ।”
खाद्यान्न लिएर पुगेपछि त्यहाँ स्थानीयहरुले तरुण दलका युवा नेताहरुलाई प्रशँसा र आशिर्वाद दिएका थिए । बुढापाखाहरुले साह परिवारलाई कसैले नहेरेको अवस्थामा तरुण दलका युवाहरुले सहयोग गरेपछि उनको लागि भगवान बनेर आएको पनि प्रतिक्रिया दिएका थिए । निरन्तर समाजिक कार्यमा लागि परेका तरुण दलका सदस्य अरबिन्द कुमार मण्डलले आगामी दिनमा समेत सहयोगको प्रतिवद्धता ब्यक्त गरे ।
प्रदान गरिएको खाद्यान्नबाट शाह परिवार लामो समयसम्म कुनै खाँचो नहुने विश्वास व्यक्त गरेका थिए । सो क्रममा खाद्यान्न लिँदै शाह परिवारले सहयोगकर्ता तरुण दल सिरहाका पदाधिकारी, सदस्यहरुलाई आभार प्रकट गर्दै खुसीले गदगद भएको देखिए ।
त्यहाँ जम्मा भएका एक बृद्धले भने “आजसम्म कोही पनि नेताहरु सहयोग गर्न आएनन्, सबै जना भोट नै माग्न आए, यसरी सहयोग गर्न तरुण दलका नेताहरु मात्रै आएको देखिए । प्रथम पटक कुनै गरिबलाई घरमै आएर सहयोग गरेको देखेर खुसी लागेको छ । तपाईहरुको कल्याण होस् । तपाईहरु धेरै राम्रो काम गर्नुभयो ।”
तरुण दल सिरहा गोलबजारका नगरसभापति नीरज सिँह, नरहा गाउँपालिका तरुण दलका अध्यक्ष महेश्वर यादव, वडा सभापति जितेन्द्र कुमार यादव सहित बिजय कुमार मण्डल, फिरण ठाकुर, सुरेश साह, बिनोद कुमार यादव, रन्जिप सिंह, खुशिलाल ठाकुर, राजा महतो, श्रवण मण्डल, दिपा महरा लगायत समस्त तरुण दलका कार्यकर्ताहरुले सहयोग गरेका थिए । खाद्यान्न लिएर पुगेपछि त्यहाँ स्थानीयहरुले तरुण दलका युवा नेताहरुको प्रशंसा गरे ।