नगरको निरन्तर अनुगमन

नगरको निरन्तर अनुगमन

पथरी, मोरङको पथरी शनिश्चरेमा समुदाय स्तरमा समेत कोरोना भाइरस फैलिएकाले अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण बन्दको आव्हान गरेपछि नगरपालिका कार्यालयबाट आज पनि बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ ।

अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिमार्फत भदौ ६ गते बिहान १० बजेबाट अस्पताल र औषधि पसल बाहेक सम्र्पूणखाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको थियो ।

नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन् सदस्यहरु यामप्रसाद गुरागाईं, निर्मला गदाल सहित नगर प्रहरीको टोलीले पूर्णरुपमा लकडाउन सहित नगर शिल गरिएको अवस्थाका बारेमा विभिन्न वडामा अनुगमन् गरेको छ । टोलीबाट वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, बोक्रेको सेल्फीरोड, ३ को त्रिवेणीचोक, आइतबारे, पिपलचोक, सुन्दरीचोक क्षेत्रको अनुगमन् भएको छ । यसैगरी, ५ र ६ नम्बरको हसन्दह बजार, ५ को सुगाहाट बजार, भेटघाट चोक, ७ को किरात चोक सहितका ठाउँको अनुगमन् गरिएको छ । हिजो अन्य वडाका विभिन्न ठाउँमा अनुगमन् गरिएको थियो ।

ती क्षेत्रमा फाटफुट रुपमा खुलेका पसल, होटल बन्द गराइएको छ । सडकमा हिँडडुल गर्नेहरुलाई घरमै सुरक्षित बस्न र मास्कको अनिवार्य प्रयोग गर्दै सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ । पथरी चोकका केही बैंक तथा बिमा कम्पनी खुलेको पाइएकोले उनीहरुलाई पनि बन्द गराइएको छ । सिटी सफारी, मोटरसाइकल तथा पैदल हिँडडुल गर्नेहरुलाई समेत सचेत गराइएको छ । इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीले समेत विभिन्न ठाउँमा लकडाउनको अनुगमन् गरिरहेको छ । वडाका जनप्रतिनिधिहरुबाट समेत अनुगमन् गरिएको छ ।

अनुगमनका क्रममा नगर उपप्रमुख वास्तोलाले दक्षिणको छिमेकी पालिका सुनवर्षीकी उपप्रमुख मञ्जुकुमारी राईसँग समेत सम्पर्क गरी आआफ्नो नगर क्षेत्रमा आपसी समन्वय गरी कडाईका साथ लकडाउन गरेर कोरोनाको संक्रमणबाट बच्नु आवश्यक रहेको बताउनु भयो ।

लामो समय घरमै रही सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका पथरी शनिश्चरे १ जना २३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको बुझेर पूर्णरुपमा लकडाउनको अवस्था आइपरेको हो ।

भदौ २ गते पथरी शनिश्चरे १ को आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट ५ गते पोजेटिभ आएको थियो । जस अनुरुप उनलाई समुदायस्तरमै कोरोना भएको बुझेर उनको सम्पर्कमा आएकाहरु तथा त्यसअघि क्वारेन्टिनमा रहेका वडा नम्वर २ र ४ का संक्रमित २ पुरुषको समेत सम्र्पकमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा भदौ ६ गते स्वाब संकलन गरिएको छ । ८० जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनु भयो । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ । उनीहरुको रिपोर्टका आधारमा लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने निर्णय गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सम्बन्धित खवर