सोमबार देखि बिजुली नहुदा मुस्ताङ अन्धकार

सोमबार देखि बिजुली नहुदा मुस्ताङ अन्धकार

जोमसोम, लगातारको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण मुस्ताङ अन्धकार बनेको छ । सोमबारदेखि आएको लगातारको बाढी र पहिरोले म्याग्दी र मुस्ताङ खण्डको दर्जनौं स्थानमा गएको बाढी पहिरोले बेनी, जोमसोम सडकको निर्माणधीन सडक, निर्माणाधीन पुल, विद्युत र सञ्चार संरचना लगायतमा करोडौको क्षति पु¥याएपछि मुस्ताङ अन्धकार बनेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङखण्डमा आएको बाढी—पहिरोले मुस्ताङ खण्डमा मात्रै ३ दर्जन बढी विद्युत पोलमा क्षति पुगेको जनाएको छ भने म्याग्दी खण्डमा पनि उक्तिकै पोल ढलेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले पर्वतको मिलनचोकबाट ल्याइएको केन्द्रीय विद्युत प्रशारण लाइन मुस्ताङ सप्लाइ गर्ने विद्युतीय मार्ग बाढी पहिरोले अवरुद्ध भएको बताए ।

उनका अनुसार म्याग्दीको तातोपानी विद्युत वितरण केन्द्रदेखि यता, म्याग्दी खण्डमा पनि दर्जनौं विद्युत पोल बाढी बगाएको, पुरिएको र ढलेका कारण गत सोमबारदेखि मुस्ताङमा विद्युत सेवा अनियमित भएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले विद्युत पोलमा पु¥याएको संरचना पुन निर्माण गर्न अप्ठ्यारो परेको उल्लेख गरे । ‘वर्षा, नदी कटान, बाढी पहिरो रोकिएको छैन । विद्युत प्राविधिक फिल्डमा पुग्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विद्युत र सडक लगायतमा ठूलो क्षति पुगेको छ, हामीले विद्युत नियमित गर्ने विकल्प खोजिरहेका छौं ।’

मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा नेपाल विद्युत प्राधिकरणको सबस्टेसन भए पनि बाढीरपहिरोले विद्युत पोल ढलेका कारण विद्युत प्रसारण लाइन अवरुद्ध भएको छ । मुस्ताङमा म्याग्दीको तातोपानी विद्युत वितरण केन्द्रले विद्युत सम्पर्क गर्ने गरेकोमा केन्द्रीय विद्युत प्रसारणको संरचना निर्माण गर्न हप्तौ लाग्ने देखिएको छ ।

मुस्ताङको घरपझोङ गाउपालिका—१ चोखोपानी जलविद्युत केन्द्रको झिनो विद्युत उत्पादन भए पनि यसले मुस्ताङलाई २४ घन्टामा २ घन्टासम्म पनि विद्युत थेग्न नसक्ने अवस्था छ । चोखोपानीको २ सय ४० किलोवाट विद्युत उत्पादन क्षमता भए पनि त्यहाँको एक मात्र उपकरणले जेनतेन १ सय २५ किलोवाट मात्र विद्युत उत्पादन गर्ने गरेको छ ।

पछिल्लो समय जिल्लाका ५ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा विद्युत विस्तार भएकाले विद्युत आपूर्तिको चरम समस्या देखिएको नीलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताए । उनका अनुसार मुस्ताङमा २४ सै घन्टा विद्युत सेवा नियमित गर्न केन्द्रीय प्रसारण लाइनकै भरपर्नु पर्ने बाध्यता रहेको हो ।

मुस्ताङमा ३ वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा रहेको १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला हाइड्रो पावरको विद्युत उत्पादन पनि यतिबेला पूर्णरुपमा ठप्पै छ । नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिसकेको थापाखोला हाइड्रोले बाढी—पहिरोले केन्द्रीय विद्युत प्रशारण लाइन अवरुद्ध भएसँगै आफ्नो उत्पादन रोकेको थापाखोला हाइड्रोका प्रतिनिधि सुदिप खड्काले जानकारी दिए ।

थापाखोला हाइड्रोमा ६ दशमलव ८ मेगावाटको २ वटा टर्वाइन भए पनि एक मात्र टरर्वाइन सञ्चालनमा रहेको हाइड्रोका प्रतिनिधि खड्काले बताए । उनका अनुसार हाइड्रोको टरर्वाइन सञ्चालन गर्न राष्ट्रिय प्रशारण लाइन अवरुद्ध भएको र त्यस टर्वाइनलाई उठाउन ३० देखि ४० केबिएसको डिजेल पम्मको आवश्यकता पर्ने उल्लेख गरे । ‘हाइड्रोमा रहेको डिजेलपम्म बिग्रिएको अवस्थामा छ ।

टर्वाइन उठाउन अर्को डिजेल पम्प उपलब्ध भए मुस्ताङलाई चाहिने विद्युत उत्पादन तथा वितरण गर्न सकिने जनाए । सोमबारदेखि बाढी ÷पहिरोको कारण लगातार विद्युत अवरुद्ध भएपछि मुस्ताङबासीले अन्धकार झेल्नु परेको हो ।

विद्युत सेवा अवरुद्ध भएपछि स्थानीय सर्वसाधारण, कार्यालय, बैंक तथा वित्तीय संस्था, अस्पताल र स्वास्थ्य चौकी लगायतका अति आवश्यकीय सेवा प्रभावित बनेको हो । यस्तै, बाढी ÷पहिरोले विद्युत पोलमा जोडिएको सञ्चार सम्पर्कमा समेत क्षति पुगेपछि मुस्ताङमा फाइबर नेट अवरुद्ध छ ।

नेपाल टेलिकम जोमसोम शाखाले रेडियो लिंक मार्फत टेलिफोन र इन्टरनेट कामचलाउ गरेको कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर