पथरी, नेपाली राजनीतिका शिखर पुरुष गिरीजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा विहिबार नेपाली कांग्रेस पथरीले विभिन्न कार्यक्रम गरेको छ । नगरका विपन्न असाहयलाई सहयोग गरेर जिपी जयन्ती मनाइएको नगरका कार्यवाहक सभापती इश्वर बहादुर थापाले जानकारी दिनुभयो ।
नगरको वडा नं. १ निवासी क्यान्सर पिडित करु गुरुङलाई १ लाख रुपैँया सहयोग गरेको छ । क्यान्सर रोगबाट पिडित बनेकी गुरुङको पाटन अस्पतालमा उपचार गर्दै गर्दा रकम अभाव भएपछि घर फर्किएकी हुन् । उनको उपचारमा सहयोग होस भनेर कोइरालाको जन्मोत्सवमा कांग्रैसले आर्थिक सहायता गरेको थापाले बताउनुभयो ।
यस्तै वडा नं. ४ संगमचौक निवासी एकल अतिविपन्नलाई घरमा ट्युवेल जडान गरिएको छ । आफ्नो घरमा पानी पिउनका लागि ट्युवेल नभएर पिडा भोगीरहेकी विकमाया अधिकारलिाई करिब १५ हजार बराबरको लागतमा ट्युवेल जडान गरिएको हो ।
यस्तै वडा नं. १० की उमा विश्वकर्मालाई पनि खाद्यान्न सहयोग गरेको छ । २ बोरा चामल, दाल, तेल, नुन लगाएतका खाद्य सामग्री साथै नगद ३ हजार ५ सय रुपैया सहयोग गरेको थापाले जानकारी दिनुभयो ।
साँझ नेपाल तरुणदल पथरीको आयोजनामा दिप प्रज्वलन गरेर कोइरालाको सम्झना गरेका थिए । यसअघि बिहिबार नै विहान नेपाली कांग्रेस वडा नं. २ कार्यसमितिको आयोजनामा २ वटा सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको थियो ।