राजेन्द्र महतो, लहान
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार संक्रमित हुनेमा धनुषाका ९, महोत्तरीका ५ र सिरहाका २ जना गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । जसमा महिला १ सय ९५ जना र पुरुष ३ हजार २१ जना रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा एक जना महिलासहित १६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका १६, १७, २१, २३ र २५ वर्षका ५ जना, बटेश्वर गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका १२, १८, १९, र २१ वर्षका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित भेरुख उच्च मावि क्वारेन्टिनका १६ वर्षीय एक जना पुरुष र मनरा सिस्वा नगरपालिकास्थित दुर्गा मावि क्वारेन्टिनका २१, २४, २७ र ५२ वर्षका ४ जना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यसैगरी सिरहाको लहानस्थित जेएम्स मुरारका क्वारेन्टिनमा बसेकी ३ वर्षीया एक जना बालिका र १७ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।