फेवाताल जोगाउन बनाइएको बाँध बाढि आउँदा थेग्न सक्दैन : जनप्रतिनिधि

फेवाताल जोगाउन बनाइएको बाँध बाढि आउँदा थेग्न सक्दैन : जनप्रतिनिधि

पोखरा : फेवाताल जोगाउनका लागि यसको सिरानमा बनाउन लागिएको निर्माणाधिन सिल्ट्रेसन बाँधको काम अन्तिम चरणमा पुगेको छ ।

बारम्बार बाँधमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको कारण देखाई स्थानीयले विरोधसमेत गर्दै आइरहेको बाँधको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि बाढी आउँदा भने थेग्न नसक्ने अनुमान जनप्रतिनिधीको छ । ‘अहिले पानीको बहाव नहुँदै भरिन लागेको छ, यसले बाढी कसरी धान्छ’ स्थानीय जनप्रतिनिधिले प्रश्न गरेका छन् ।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको समन्वयमा निर्माण गर्न लागिएको उक्त ड्याममा प्रयोग गरिएको बालुवा गुणस्तरहीन भएकाले करिब ७ सय घरधुरीलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । तर बाँधले बर्खा धान्न नसक्ने हो की भन्ने चिन्तामा स्थानीय रहेको वडा २३ का वडासदस्य भरतराज भण्डारीले बताए ।

रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोलाहुँदै तालमा मिसिने गेग्रयान रोक्न २८ करोड १६ लाख रुपैयाँ लागतमा पहिलो चरणमा उक्त सिल्ट्रेसन ड्याम निर्माण शुरू गरिएको हो । फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४ पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पन खोला घाँटीछिनामा उक्त ड्ययाम बनाइँदै छ । यीमध्ये बेतयनी खोलाको जिम्मा स्याङ्जाको श्री गीता र जयनेपाल ईश्वर जेभी, लौरुक खोला, अँधेरी खोला र हर्पन खोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण ठेक्का पाएका छन् ।

बेतयानीमा ५ करोड ४६ लाख ५८ हजारमा दुई, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजारमा एक, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा एक र अँधेरीकुनामा ९ करोड ६ लाख ४ हजारमा एक ड्याम बन्ने छन् । तर, बनाइँदै गरेको ड्याममा उचित मात्रामा सिमेन्टको प्रयोग नगरिएको र ड्यामको भित्र ढुंगा मात्र राखिएको स्थानीयले विरोध गरेपछि केहि राहतको काम भने भएको स्थानीयको भनाई छ ।

पोखरा–२३ अँधेरीखोला र हर्पन खोलाको बाँधमा माटोको मात्रा रहेको बालुवा मिसावट गरिएको, बाँधको भित्री तहमा पनि ढुंगामात्र राखिएको र सिमेन्ट नहालिएकै अवस्थामा बाँध निर्माण कार्य सम्पन्न भएको जनप्रतिनिधिको ठम्याइँ छ । ‘निर्माण गरिएको बाँध त्यसै फिनिसिङ्ग गरिएको छ । अहिले पनि हेर्दा बाँधसंगै जोडिएको ग्याबिनको जाली चुँडिएको छ । खोलाको गेग्रयान ढुङ्गा हालिएको छ । यसले दिर्धकालीन होला भन्न सकिएको छैन’ २३ का वडासदस्य भरतराज भण्डारीले भने ।

निर्माणको क्रममा पोखरा महानगरका इन्जिनियर खेम तिमिल्सिनाले मिसावट बालुवाको प्रयोग भएकाले काम रोकेका थिए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले निरीक्षण गरी प्राविधिक रुपमा गुणस्तर र दिर्घकालिन बाँध बनाउन सुझाएका थिए ।

सम्बन्धित खवर