प्रवेश विष्ट, इटहरा मोरङको रतुवामाई नगरपालिकामा अहिलेसम्म २२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आठ जना थपिएसँगै संक्रमितको सङ्ख्या २२ पुगेको हो । नगरपालिकाको सौठा माविको क्वारेन्टाइनका ३ जना र सरस्वती मावि इटहरा क्वारेन्टाइनका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
केही दिनयता सघनरुपमा पीसीआर परीक्षण भइरहेको रतुवामाईमा संक्रमितको सङ्ख्या पनि तिव्र गतिमा बढिरहेको छ । भारतसँग सीमा जोडिएका कारण भारतबाट घर फर्कनेहरुको सङ्ख्या धेरै भएका कारण संक्रमण जटिल बन्दै गएको छ ।
संक्रमित आठ जनालाई आइसोलेसनमा राखी उपचार गर्न बुधबार साँझ ६ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाईले जानकारी दिनुभयो ।
रतुवामाईमा १४ स्थानमा क्वारेन्टाइन सञ्चालन भइरहेका छन् । यी क्वारेन्टाइनहरुमा बुधबार बिहानसम्म ४०९ जना रहेकोमा संक्रमित नभएका र कोरोना रिर्पोट नेगेटिभ आएकाहरु घर फर्किएपछि अब क्वारेन्टाइनमा २८८ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार शाहले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेकाहरुको नियमितरुपमा स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेको र उनीहरुलाई दिनमा चार पटक खाजाभात खुवाइरहेको पनि उहाँले बताउनुभयो ।
मोरङका १७ वटा पालिकामा सबैभन्दा बढि कोरोना परीक्षण गर्नेमा रतुवामाई नगरपालिका रहेको स्वास्थ्य शाखा प्रमुख शाहले दाबी गर्नुभयो । पीसीआर परीक्षणको दायरालाई अझ बढाउँदै लगिने उहाँको भनाई छ ।