मुस्ताङमा टेलिकमको फाईवर टु दी होम विस्तार

मुस्ताङमा टेलिकमको फाईवर टु दी होम विस्तार

मुस्ताङ : दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हिमालपारीको जिल्ला मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा सुरु गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले लकडाउनकै समयमा मुस्ताङमा फाइबर टु होम सेवा बिस्तार गरेको होे ।

साविक धौलागिरी अञ्चलका चार जिल्लामध्ये मुस्ताङमा मात्रै फाइबर टु होम सेवा बिस्तारको काम बाँकी थियो । लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रबेशमा लगाईएको रोकका बाबजुध नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राबिधिक समुहले जोमसोम पुगेर काम थालेको थियो । गत सातादेखि सुरु भएको फाईवर तार बिस्तारको काम सकिएको दुरसञ्चार कार्यालय बागलुङका प्रमुख केशव शर्माले बताए ।

शर्मा नेतृत्वमा बागलुङबाट चार जना प्राबिधिक र मुस्ताङ कार्यालयमा रहेका थप चार जना प्राबिधिकले जोमसोम र ठिनी गाउँमा रहेको झण्डै नौ किलोमिटर दुरीमा फाईवर बिस्तार गरेका थिए । फाईवरको मुख्य लाईन विस्तारको काम सकिएको र आगामी जेठ महिनादेखि ग्राहकका लागि डिभाईस र लाईन बितरणको काम थालिने शर्माले बताए ।

स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवालासँगको छलफलपछि मुस्ताङ पुगेको प्राबिधिक समुहले काम थालेको थियो । तत्कालका लागि मुस्ताङका ४ सय ग्राहकले फाईवर टु दि होम सेवा प्रयोग गर्न पाउने शर्माले बताए । तामाको तारमा प्रावह भैरकेको डाटा तथा भ्वाईस भरपर्दो र कम गतिको भएको गुनासो आईरहेकाले लकडाउनको प्रवाह नगरी मुस्ताङमा काम गरिएको शर्माले बताए ।

मुस्ताङका सरकारी तथा गैह्रसरकारी कार्यालय र होटल व्यवसाय उच्च गतिको इन्टरनेट प्रयोग गर्न नपाएका कारण सबैभन्दा धेरै मर्कामा थिए । फाईवरबाट ८ एविपिएस गतिको इन्टरनेट सुपथ मुल्यमा उपलव्ध हुने भएकाले उपभोक्ताको गुनासो कम हुने टेलिकमले जनाएको छ ।

न्युनतम ८ सय रुपैयाँ प्रतिमहिना खर्च आउने यो प्याकेजबाहेक अझै उच्च क्षमताको इन्टरनेट उपभोक्ताको मागको आधारमा उपलव्ध गराउन सकिने टेलिकम बागलुङका सुपरभाईजर केशव सापकोटा बताउँछन् । भरपर्दो, गुणस्तरीय तथा तिब्र गतिको डाटा सर्भिस लिन चाहने ग्राहकहरुको आवश्यकता फाइबर टु होम सेवाले पुरा गरिदिने अपेक्षा टेलिकमले लिएको छ ।

नेक्स्ट जेनेरेशन नेटवर्क प्रविधिअन्तर्गतको यस सेवालाई ‘एनटी फाइबर’ को नामबाट बजारीकरण गरिएको थियो ।
‘हाल यस सेवामार्फत उच्च गतिको डाटा सेवा लगायत आइपी बेस्ड भ्वाइस सेवा उपलब्ध हुनेछ’ शर्माले भने ‘केही समय पश्चात मल्टिमिडिया सेवासमेत उपलब्ध गराउने हाम्रो योजना रहेको छ ।’ यो भन्दा पहिला प्रयोगमा रहेको कपर प्रबिधिको गति ५ एमविपिएस मात्रै थियो ।

निकै कम गतिको इन्टरनेट तथा भ्वाईस डाटाका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका थिए ।
फाइबर टु होम प्रविधिमार्फत सेवा दिनका लागि परम्परागत कपर वायरको सट्टा ग्राहकहरुको घरसम्म अप्टिकल फाइवर जोडिने टेलिकमले जनाएको छ ।

अप्टिकल फाइवरको निहित गुणका कारण सेवाको गुणस्तर राम्रो हुने र ग्राहकहरुको लागि सेवा प्रभावकारी रहने छ । फाइबर टु द होम भनेको तिब्र गतिको इन्टरनेट सेवा दिनका लागि एनजिएन प्रविधिमा आधारित एउटा टेक्नोलोजी हो । यो प्रविधिबाट हामीले तिब्र गतिको इन्टरनेट चलाउन पाउने छौं ।

सम्बन्धित खवर