भालुखोलाको मुहानमै क्रसर चलाउँदा खानीखोला हाइड्रोपावरको ड्याम पुरिँदै गएको छ । मापदण्डविपरीत सञ्चालित क्रसरका कारण ललितपुरको बागमती गाउँपालिकास्थित ६ मेगावाट विद्युत् उत्पादन क्षमताको खानीखोला हाइड्रोपावर बन्द हुने अवस्थामा पुगेको हो । हाइड्रोपावरको बाँधमा मिसिने भालुखोलाको मुहानमै क्रसर उद्योग सञ्चालित छ ।
हाइड्रोपावरका साइट इन्चार्ज महेश ढकालका अनुसार मुहानमै क्रसर उद्योग चलाउँदा पाँगोसहितको पानीले हाइड्रोको ड्याम (बाँध) पुरिने अवस्थामा पुगेको छ । ‘नौ मिटर गहिरो ड्याममा अहिले आठ मिटर लेदोले भरिएको छ,’ ढकालले भने । बालुवा र माटो मिसिएको धमिलोपानीले हाइड्रोपावरको सुरुङ र टर्वाइनमा समेत असर गरेको ढकालले बताए । ‘सुरुङ र टर्वाइनको रनर लेदोले बिगारेको छ,’ उनले भने ।
हाइड्रोपावरको बाँध र सुरुङ माटोले पुरिन थालेपछि आयोजना बन्द गर्नुपर्ने बाध्यता आइलागेको बताउँछन् खानीखोला हाइड्रो परियोजनाका जनसम्पर्क अधिकृत भीमसेन आचार्य । विद्युत्गृह बन्द गरेर बाँधमा भरिएको लेदो सफा गर्नुपर्दा विद्युत् उत्पादन घटेको छ । ‘दिनभर विद्युत् उत्पादन रोकेर ड्याम सफा गर्नुपर्छ,’ आचार्य भन्छन्, ‘महिनामा कम्तीमा दुईपटक सफा गर्नुपर्छ ।’
क्रसर उद्योगले असर गरेपछि हाइड्रोपावरले तीनपटक जिल्ला प्रशासन कार्यालयसमेत गुहारिसकेको छ । तर, प्रशासन कार्यालयले पनि हाइड्रोपावरको गुनासो सम्बोधन गर्न सकेको छैन । ‘प्रहरी र प्रशासन गुहार्दा बालुवा चाल्ने मान्छे नै प्रहरी लिएर आउँछन्’ ढकालले गुनासो पोखे ‘त्यस्तो अवस्थामा कसरी समस्या समाधान हुन्छ ।’ हाइड्रोपावरमा क्षति पु¥याउने क्रसर उद्योगका सञ्चालक सोही गाउँपालिकाको वडा नम्बर–३ का अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना हुन् । उनको तीनवटा एक्साभेटर छन् । उनले भालुखोलामा क्रसर उद्योगसँगै आफ्नै वडामा बस्ती नै सारेर बालुवाखानी समेत सञ्चालन गरेका छन् ।
हाइड्रोपावरले क्रसर उद्योग रोकी पाऊँ भन्दै गाउँपालिका र प्रशासन कार्यालयमा उजुरी दिएको छ । तर, उजुरीको बेवास्ता गर्दै वडाध्यक्ष तिमिल्सिनाले ड्यामको मुखैमा नयाँ क्रसर उद्योग सञ्चालन गर्ने तयारी गरेका छन् । तिमिल्सिनाको लगानी रहेको नयाँ क्रसर उद्योग ड्यामबाट पाँच सय मिटरको दूरीमा छ ।
विद्युत् ऐन २०४९ दफा ३८ को उपदफा ४ मा ‘कसैले बदनियतका साथ कुनै विद्युत् उत्पादन वा रुपान्तर केन्द्र, प्रसारण लाइन, वितरण लाइन वा सोसँग सम्बन्धित अन्य कुनै संरचनामा प्रतिकूल असर पार्ने कुनै काम गरेमा, भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानि–नोक्सानी पु(याएमा वा त्यस्तो कुनै काम कुराका लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्ने उद्योग गरेमा निजबाट हानि–नोक्सानीको बिगो असुल गरी निजलाई बिगोबमोजिम जरिवाना वा दश वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने’ व्यवस्था छ ।
गत वर्षसम्म त ड्यामको मुखैमा क्रसर उद्योग सञ्चालनमा थियो । हाइड्रोपावरले जिल्ला प्रशासन कार्यालय र प्रहरी गुहारेपछि अहिले त्यो बन्द भएको छ । पुरानो उद्योग बन्द भए पनि वडाध्यक्षले ड्यामको नजिकै नयाँ क्रसर उद्योग चलाउने भएपछि हाइड्रोपावर बन्द गर्नुपर्ने बताउँछन् ढकाल । ‘ड्यामको मुखैमा क्रसर उद्योग चलेपछि ड्याम, टर्वाइन तुरुन्तै फेल हुन्छन् । टर्वाइन र ड्याम बिगारेर करोडौँ नोक्सान व्यहोर्नुभन्दा हाइड्रो बन्द गर्नु ठिक हुन्छ ।’ ढकालले भने ।
नयाँपत्रिकाबाट