हात्ती पाइले रोग विरुद्धको अभियान सुरु

हात्ती पाइले रोग विरुद्धको अभियान सुरु

पथरी, मोरङमा समेत यो वर्ष पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम परेको सन्दर्भमा जिल्लाको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सवैको सहकार्यमा अभियान सफल पार्न गोष्ठी गरेको छ ।

माघ २५ देखि खुवाइने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघ संस्था, पत्रकार सहितसँगको आजको गोष्ठीमार्फत योजना तर्जुमा समेत गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले यो आम औषधि अभियान अन्तर्गत प्रत्येक व्यक्तिले औषधि खाने कार्यक्रमलाई सवै पक्ष मिलेर सफल पार्न आव्हान गर्नुभएको छ ।

गोष्ठीमा, नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ । १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।

कार्यक्रममा, पथरी नगर अस्पतालका डाक्टर सावन मेहताका साथै नगर स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले रोग र त्यसको निवारणका सन्दर्भमा जानकारी गराउनु भएको छ । यस अभियानमा अण्डाकोषको हाइड्रोसिल भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने जनाउनु भयो ।

नगरमा गत वर्ष ८९ प्रतिशतले औषधि सेवन गरेको र यो वर्ष सवैलाई नै औषधि खुवाउन सफल हुने अभियानगत योजना बनाइएको छ । औषधि खुवाउने जिल्लाको यो ९ औं पटकको अभियान हो ।

सम्बन्धित खवर