विराटनगरमा प्लेन दुर्घटना, ४० भन्दा बढी यात्रु घाईते ।

विराटनगरमा प्लेन दुर्घटना, ४० भन्दा बढी यात्रु घाईते ।

 

बुधबार विहान साढे ८ बजेको थियो । सगरमाथा च्यानलबाट ब्रेकिङ न्युज आयो । विराटनगरको सेन्ट्रल मल नजिकै प्लेन दुर्घटना ।


ब्रेकिङ न्युज देख्ने वित्तिकै स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ का प्रमुख चन्द्रदेव मेहताले सवैतिर खवर गरे । कोशी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिईयो । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाउन तत्काल निर्देशन दियो ।
‘हव’ अस्पतालहरुलाई तयारी अवस्थामा राखियो । घटनास्थालमा मेडिकल टिम तत्काल पठाइयो । घाईतेलाई कोशी, मेची र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउन थालियो
घाईते सवैलाई पहिले कोशी अस्पताल लगियो । घाईतेको अवस्था हेरि तीन भागमा विभाजन गरियो । सोही अनुसार अस्पताल पठाउन शुरु गरियो ।
घटनालगत्तै सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव वीरवहादुर राई सहितको टोलीले घाईतेहरुको अवस्थाबारे अस्पतालहरुमा पुगेर जानकारी लिएको थियो ।
अस्पतालहरुमा विरामी पठाउन थालेपछि सवै अस्पतालका चिकित्सकहरु उपचारका लागि तयारी अवस्थामा रहे । उपचार शुरु भयो । अस्पतालको अवस्था हेरि विरामी पठाउने क्रम तीव्र पारिएको थियो । केही घाईतेलाई काठमाण्डौं पनि पठाईएको थियो ।
प्लेन दुर्घटनापछि दुर्घटना स्थलका केही घरमा आगलागी समेत भएकाले घाईतेहरु बढीरहेका थिए ।
कोशी, मेची र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै धुलिखेल अस्पताललाई पनि केन्द्र निर्धारण गरिएको थियो । घाईतेहरुको अवस्थाबारे पत्रकार सम्मेलन गरि जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा १२ जनाको मृत्यु, ५ जनालाई थप उपचारका लागि धुलिखेल पठाईएको, ९ जना सामान्य घाईते, २ जना आईसीयूमा, ७ जनाको उपचार भईरहेको र ६ जना डिस्चार्ज भएको जानकारी दिइएको थियो ।
माथि उल्लेख गरिएको दृष्य सांकेतिक थियो । सिंगापुरको सिंहाहेल्थको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले विराटनगरमा आयोजना गरेको आपतकालिन स्वास्थ्य संवन्धिको पुर्वतयारीको अन्तिम दिन आज विहान कोशी अस्पताल विराटनगरमा गरिएको प्रदर्शनीको दृष्य हो ।
कुनै दुर्घटना भए कसरी तयारी गर्ने भन्ने विषयमा गरिएको तालिम धेरै प्रभावकारी भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । मन्त्रालयले आपतकालिन अवस्थामा गरिने स्वास्थ्य उपचारका लागि कोशी अस्पताल भित्र २ महिना भित्रमा पुर्वाधार तयार गरिसक्ने बताउनुभयो । प्रदेशका १४ वटै अस्पताललाई आपतकालिन अवस्थामा गरिने स्वास्थ्य उपचारका लागि तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो ।
सिंगापुरको सिंहाहेल्थकाका प्रा.डा.अनन्तले विराटनगरको तालिम धेरै प्रभावकारी भएको बताउनुभयो । काठमाण्डौं, नेपालगञ्ज पछि विराटनगरमा तालिम गरिएको उहाँले बताउनुभयो । सिंहाहेल्थले विश्वका विभिन्न देशहरुमा पुर्वतयारीबारे तालिम दिने गरेको उहाँले बताउनुभयो ।
तालिममा प्रदेशका सवै जिल्ला अस्पताल, स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, प्रहरी र विभिन्न मन्त्रालयका प्रतिनिधि गरि ८० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर