कार्तिक ४, २०७६
पाँचथरको सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकाको डिप बोरिङ खानेपानी योजना सञ्चालनमा समस्या देखापरेको छ । प्रदेश सरकारको सहयोगमा ५ स्थानमा डिप बोरिङ खानेपानी सञ्चालन भएको थियो । आवश्यक प्राविधिक ज्ञान र उपकरणमा देखिएको समस्याका कारण योजना सञ्चालनमा चुनौति देखिएको छ
जमिनको सहतमुनीबाट पानी तान्न प्रयोग गरिएको पम्पले काम गर्न छोडेपछि समस्या देखापरेको हो । योजनामा देखिएको समस्याका कारण स्थानीयले खानेपानी उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन् । कुम्मायकको उत्तिसे, मल्लिडे, देवल र बिजुवापानी डिपबोरिङ खानेपानी योजनामा यो समस्या देखापरेको छ । केही महिना सञ्चालन हुने र पुनः बन्द हुने क्रमले खानेपानी नपाएको स्थानीय कालीप्रसाद चेम्जोङको गुनासो छ । गाउँमा पहिलो पटक पानी पाउँदा खुशीयाली मनायौं, तर छोटो समयमै त्यो खुशी अहिले दुःखमा बदलिएको छ । फेरि खानेपानीकै पीडा भोग्नुपरेको छ’ –चेम्जोङले भने ।
कुम्मायक–५ को बिजुवापानी खानेपानी योजना सञ्चालन भएको २ महिना बित्न नपाउँदै पम्पमा आएको समस्याका कारण दुई महिनादेखि खानेपानी बन्द भएको छ । अवरुद्ध योजना सञ्चालन गर्न प्रयास हुँदै आएको बताइएको छ । पुरानो पम्प निकालेर नयाँ राख्ने काम भइरहेको कुम्मायक–५ का वडाध्यक्ष यामबहादुर बोहोराले बताए । बिजुवापानी डिप बोरिङ र देवल खानेपानी योजना सञ्चालन हुन नपाउँदै पम्पमा आएको खराबीका कारण अवरुद्ध छन् ।
प्रदेश सरकारले कुम्मायकका ५ स्थानमा १ करोड ६० लाखको लागतमा डिप बोरिङमार्फत् पानी निकालेको थियो । गाउँपालिकाको केन्द्र यासोक बजारस्थित उत्तिसे र मल्लिडे खानेपानी योजनाबाट पानी सञ्चालन भए पनि वितरण प्रणाली प्रभावकारी नहुँदा खानेपानीको समस्या देखापरेको छ । कतै प्राविधिक समस्या त कतै वितरण प्रणाली प्रभावकारी नहुनु, जसले गर्दा उपभोक्ता मारमा परेका छन् । नियमित खानेपानी नआउँदा १० दिनअगाडि जम्मा गरेको पानी खानुपरेको यासोक बजारमा व्यवसाय गर्दै आएका स्थानीय सुरेश पौडेलको गुनासो छ । ‘धारामा पानी नआएको एक हप्ता भयो, सरसरफाइ गर्न र खानको लागि बासी पानी प्रयोग गर्नुपर्छ’ –गुनासो गर्दै उनले भने ।
योजना व्यवस्थापनको जिम्मा लिएको गाउँपालिकाले गत आर्थिक वर्षमा ३० लाख बढी रकम विनियोजन गरेको थियो । तर खानेपानी योजनामा प्राविधिक समस्या देखा पर्दा केही खानेपानी योजनामा समस्या देखा परेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । ‘योजनामा प्रयोग भएका सामग्री कमसल हो या अन्य कुनै समस्या हो, यो नयाँ प्रयोग भएकाले पनि खानेपानी व्यवस्थापन गर्न चुनौति देखापरेको छ’–उनले भने । गत वर्षजस्तै यो आर्थिक वर्षमा पनि गाउँपालिकाले डिप बोरिङ खानेपानी योजनाको व्यवस्थापनको लागि रकम विनियोजन गरेको छ ।
अल्पकालीन विकल्पको योजनाको रूपमा लिएको डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न समुदायस्तरबाट पनि पहल भएको पाइँदैन । योजना सञ्चालनको लागि गठित उपभोक्ता समितिको काम कारबाहीको विषयमा स्थानीय तह र सम्बन्धित निकायले चासो दिनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
ब्लाष्टखबर
