तत्कालिन नेकपा माओवादीले चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको थियो । सो दुखद् घटना घटेको आज १४ वर्ष पुरा भएको छ ।
सशस्त्र हिंसाका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए । सो दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।
१ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ जादैं गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो । घटना भएको १४ बर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैनन् । घटनामा घाईते भएका मध्ये एक जनाले आत्महत्या समेत गरिसकेका छन् । हाल सम्म तीन जनाको उपचार नपाएर मृत्यु भएको छ ।