मितेरी च्यालेन्ज कपको उपाधि धरान सिटीलाई

मितेरी च्यालेन्ज कपको उपाधि धरान सिटीलाई

टाइब्रेकरमा सैनिक युथ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै सुनसरीको धरान सिटी एकेडेमीले मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को उपाधि जितेको छ ।

मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा भएको फाइनल खेलमा धरान आफ्नो एक खेलाडीले पेनाल्टी प्रहार गर्नु अगावै विजयी भएको हो । धरानका लागि विबेक राई,सचिन श्रेष्ठ ,विटु तामाङ र विनोद राईले गोल गरेका थिए। यस्तै सैनिक युथ क्लवका श्याम मुर्मुको प्रहार मात्रै गोलमा परिणत भयो । सैनिक युथका उत्सव राई र विमन राईको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले बचाए ।
निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियोे । आजको खेलमा सैनिक युथका दुईवटा प्रहार बचाउने धरानका गोल रक्षक विनय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

जितसँगै धरानले ५१ हजारनगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।यस्तै उप बिजेता सैनिक युथले ३१ हजार नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै सैनिक युथका रोमन भुजेलले सर्वाधिक गोलकर्ताको उपाधि जिते ।धरानका विनय श्रेष्ठ उत्कृष्ट गोलकर्ता घोषित भए भने सैनिकका सजित राई उत्कृष्ट डिफेन्सको उपाधिबाट पुरस्कृत भए । धरानका उत्सव राई उत्कृष्ट मिड फिल्डर घोषित भए ।

यसैगरी धरानका बिनोद राई उत्कृष्ट स्ट्राइकर घोषित हुँदा सैनिक युथ झापाका अभिषेक गुरुङ म्यान अफ द सिरिजबाट पुरस्कृत भए । विधागत पुरस्कारको राशि नगद ५÷५ हजार रुपैयाँ रहेको थियो । विजेता ,उप बिजेतालाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र मोरङ फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले संयुक्तरूपमा वितरण गर्नुभयो ।
गत माघ २४ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमले सहभागिता जनाएका थिए ।

प्रथम पुरस्कार कानेपोखरी ७ घर भइ हाल हङकङ बस्दै आउनु भएका देवनन्द गुरुङ र सुजन गुरुङले आफ्ना बुबा मानबहादुर र आमा ताराको स्मृतिमा सौजन्य गर्नु भएको थियोे ।

सम्बन्धित खवर