पथरीमा लुकाइएको अवस्थामा भेटियाे काेशी ग्यासका १९ सिलिन्डर

पथरीमा लुकाइएको अवस्थामा भेटियाे काेशी ग्यासका १९ सिलिन्डर

पथरी (साउन २७) माेरङकाे पथरी शनिश्चरे नगरपालिकाको स्थानीय बजार अनुगमन समितिले लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्यास सिलिन्डर बरामद गरी उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको छ ।

पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्यास डिलरको विक्रेता भुल्केदेवी ट्रेड एन्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्यास सिलिन्डर बरामद गरिएको हो । बजारमा ग्यासको कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि समितिले अनुगमनलाई तीव्रता दिएको जनाएको छ । अनुगमन समितिकी संयोजक एवम् नगर उपप्रमुख देवीमाया काफ्ले र अनुगमन निरीक्षक एकराज खत्रीको उपस्थितिमा ग्यास सिलिन्डर बरामद गरिएको हो ।

समितिले एकपटकका लागि माफी दिँदै बरामद गरिएका सिलिन्डर पसलमा ल्याएर उपभोक्तालाई बिक्री वितरण गर्न अनुमति दिएको जनाएको छ । यसैक्रममा समितिले वडा नं. १ मा रहेको दिपक हार्डवेयरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा हार्डवेयरको बिल–विजक लगायतका कागजात निरीक्षण गरिएको थियो । त्यहाँ ग्यास लुकाएर राखेको नपाइएको भए पनि ग्याँस बिक्री वितरणको प्रमाण–पत्र नभेटिएको अनुगमन निरीक्षक खत्रीले बताउनुभयो ।  समितिले तिरुपति ग्यास डिलर (प्रिमा ग्यास), रिजालको ग्यास तथा कोशी ग्यासका अन्य डिलरहरूमा समेत अनुगमन गरेको छ । अनुगमनमा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक बस्नेत, राजश्व शाखा प्रमुख तारा ढकाल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक भीमराज राई, अनुगमन समितिका सदस्य, नगर प्रहरी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बजारमा ग्याँसको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको जनाएको छ ।

सम्बन्धित खवर