पथरी (मोरङ) : मोरङको पथरी शनिश्चरे–१ स्थित भू.पू. सैनिक अङ्ग्रेजी स्कुलमा आज राष्ट्रिय बाल दिवसको अवसर पारेर विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको सर्वाङ्गीण विकास तथा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विद्यालय परिसरमा उक्त कार्यक्रम भव्य रूपमा आयोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेल प्रमुख अतिथि रहनुभएको थियो। समारोहमा विद्यार्थीहरूले गीत, नृत्य, वक्तृत्वकला लगायतका विभिन्न विधामा आफ्ना सिर्जनात्मक कला तथा प्रतिभाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको चौतर्फी व्यक्तित्व विकासका लागि यस्ता रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरू प्रभावकारी हुने कुरा विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलले जानकारी दिनुभयो।
नृत्यको कार्यक्रमलाई प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो । प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले नगद तीन हजार, एक हजार पाँच सय र एक हजार रूपैँया पुरस्कार पाए । कार्यक्रमको सम्पूर्ण सञ्चालन विद्यालयमा अध्ययनरत विद्यार्थीहरू रोनिमा ढुङ्गाना, सरु लिम्बू, सीतादेवी श्रेष्ठ र सूर्य राईले संयुक्त रूपमा गरेका थिए।

यसै अवसरमा विद्यालयको कक्षा ११ र १२ का विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै उर्लाबारीस्थित नमुना बालगृहमा पुगेर सहयोग गरेका छन्। विद्यार्थीहरूले बालगृहमा रहेका बालबालिकाको सहयोगार्थ नगद रु. ११ हजार १०० (एघार हजार एक सय) रूपैयाँ हस्तान्तरण गरेका हुन्। बाल दिवसको अवसरमा आयोजित यस बृहत् कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।







