बिहानको प्रार्थना समय होस् या दिउँसोको अतिरिक्त क्रियाकलाप—मोरङको पथरीशनिश्चरे-१ स्थित नमुना घाेषित श्री पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गण डम्बरबहादुर (बाछना) राईका लागि नौलो भने होइन। आफ्ना दुई छोरीहरूलाई यही विद्यालयको आँगनमा हुर्काउँदै र पढाउँदै आउनुभएका अभिभावक राईका लागि अब भने यो सम्बन्ध झन् कसिलो र जिम्मेवार बनेको छ। तिनै दुई छोरीहरू अध्ययनरत यस पञ्चायत माविको विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्ष पदमा उहाँ निर्वाचित हुनुभएको छ।

अभिभावकत्वको प्रत्यक्ष अनुभव र जिम्मेवारीबोधका साथ उहाँले आजै एक समारोहकाबिच आफ्नो पदभार ग्रहण गर्नुभएको छ।
पथरीशनिश्चरे-३ का स्थायी बासिन्दा राईका दुई छोरीहरू दिव्या राई (कक्षा ७) र दिया राई (कक्षा १२, विज्ञान विषय समूह) सोही विद्यालयमा अध्ययनरत हुनुहुन्छ। दिव्याले कक्षा ४ देखि नै यसै विद्यालयमा अध्ययन गर्दै आउनुभएको हो भने दियाले कक्षा ८ देखि अङ्ग्रेजी माध्यमबाट पढेर एसइई उत्तीर्ण गरी हाल विज्ञान समूहमा अध्ययनरत हुनुहुन्छ। छोरीहरूकै शैक्षिक यात्रासँगै विद्यालयको धड्कन नजिकबाट नियाल्नुभएका राई आफैँ नेतृत्वमा पुगेपछि विद्यालयले थप विकासको गति लिने अपेक्षा गरिएकाे छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राईले आफ्ना भावी योजना प्रस्तुत गर्नुभयो । “एक अभिभावकका रूपमा मैले यस विद्यालयको सम्भावना र खाँचोलाई नजिकबाट अनुभूत गरेको छु। अबको युग सूचना प्रविधि र व्यावहारिक ज्ञानको हो। पञ्चायत माविलाई अझ बढी प्रविधिमैत्री बनाउँदै परम्परागत शिक्षण विधिलाई अनुसन्धानमुखी र व्यावहारिक बनाउन म पूर्ण रूपमा समर्पित रहनेछु। ” अध्यक्ष डम्बरले भन्नुभयाे ।
अध्यक्ष राईको आफ्नै शैक्षिक र व्यावसायिक पृष्ठभूमि पनि उदाहरणीय छ। २०५२ सालमा स्थानीय जनता माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका उहाँले धनकुटा बहुमुखी क्याम्पसबाट गणित र अङ्ग्रेजी मूल विषय लिई आईएड (I.Ed.) सम्मको अध्ययन पूरा गर्नुभएको छ। २०६१ सालमै निमावि तहको स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुभएका राई अध्यापनभन्दा बढी सूचना प्रविधि (IT) र खेलकुदको क्षेत्रमा जोडिन पुग्नुभयो। यसले उहाँकाे व्यक्तिव्य विकासमा राम्राे अाधार तय गरेकाे छ ।
कम्प्युटरको व्यावहारिक कार्यमा निपुण उहाँ हाल ‘रोजु कम्प्युटर सर्भिस’मार्फत ‘कम्प्युटर डाक्टर’ र आईटी प्रशिक्षकका रूपमा परिचित हुनुहुन्छ। साथै, बुद्धिचाल (चेस) खेलका राष्ट्रिय स्तरका प्रशिक्षकसमेत रहनुभएका राईको यो प्राविधिक र बौद्धिक दक्षताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
समितिका पदाधिकारीहरू
समारोहमा नवनिर्वाचित व्यवस्थापन समितिका सदस्यहरूमा पथरीशनिश्चरेका अग्रज पत्रकार तथा स्थापित साहित्यकार भूपेन्द्रराज तिम्सिना, चन्द्रकला आचार्य र भद्रिका मोक्तानलाई पनि बधाई ज्ञापन गरिएको थियो।

शिक्षक अभिभावक सङ्घमा तिम्सिना
सोही अवसरमा विद्यालयको शिक्षक अभिभावक सङ्घको समेत गठन गरिएको छ । यसको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन हुनुभएको छ। सङ्घका सदस्यहरूमा शर्मिला न्यौपाने, यादवप्रसाद कोइराला, प्रतिमा घिमिरे, झुमा खतिवडा, जानुका आचार्य, खगेन्द्र नेपाल र वैद्यनाथ लुइँटेल रहनुभएको छ।
पञ्चायत माविमा अाज भएकाे तेस्राे चरणकाे अभिभावक भेलाबाट मात्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्भव भएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथाेकीले जानकारी दिनुभयाे ।







