आर्थिक वर्ष २०७६/७७ मा आयल निगमको १२ अर्ब ९१ करोड ४८ लाख नाफा

आर्थिक वर्ष २०७६/७७ मा आयल निगमको १२ अर्ब ९१ करोड ४८ लाख नाफा

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले समग्र अर्थतन्त्रलाई धराशयी बनाएको अवस्थामा नेपाल आयल निगमले गएकाे आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ ।

निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा भएको जनाएको छ । जब कि आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ माात्रै नाफा भएको थियो ।

ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम नाफामा गएको हो  । निगमले नाफा रकमबाट निगमका शेयर धनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड रुपैयाँ वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र मुद्दती निक्षेपमा लगानी गरी कमाएको ब्याजका कारण पनि नाफा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

‘पेट्रोलियम पाइपलाइन नहुँदा आर्थिक वर्ष २०७५/७६ मा ढुवानी बापत ५ अर्ब ६५ करोड खर्च भएको थियो । २०७६/७७ मा ४ अर्ब २० करोड मात्रै खर्च भयो । अर्थात् डिजेल ढुवानीबाट १ अर्ब ४५ करोड रुपैयाँ बचत भयो,’ उपाध्यायले भने, ‘ब्याजबाट हुने आम्दानी पनि बढेको छ । ब्याज आम्दानी मात्र १ अर्ब थपिएको छ ।’

निगमका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ब्याजबापत ७६ करोड आम्दानी भएको थियो । २०७६/७७ मा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको उतारचढावसँगै स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले नाफा कमाउन थालेको हो । निगमले आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सम्बन्धित खवर