कटारीबाट १० जना सडक आश्रितको उद्दार

कटारीबाट १० जना सडक आश्रितको उद्दार

 

उदयपुर । उदयपुरको कटारीबाट १० जना सडक आश्रितको उद्दार गरिएको छ । शनिबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, मानव सेवा आश्रमका संयोजक नवराज केसीलगायतको टोलीले कटारी क्षेत्रबाट १० जनाको उद्दार गरेको हो ।

कटारी बजारदेखि भोर्ले, बेलसोतसम्मका ६ जना पुरुष र ४ महिला गरी कुल १० जना सडक आश्रितका उद्दार गरिएको हो । नगर प्रमुख श्रेष्ठका अनुसार उद्दार गरिएका उक्त व्यक्तिहरु विगत केही वर्षदेखि सडक आश्रित हुन् ।

उहाँले भन्नुभयो, ‘हामीले प्रदेश सरकारसँग समन्वय गरी सडकमा आश्रित मानिसहरुलाई तत्काल मानव सेवा आश्रममा लगेका छौं । उनीहरुको भरण–पोषण र औषधि–उपचार गर्न सहज होस्, भन्ने हेतुले त्यहाँ लगिएको हो ।’

यस अभियान प्रदेश सरकारको राम्रो अभियान समेत भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले सडक आश्रित मानिसहरूको उद्दार गरी सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताउनुभयो ।

‘सडकमा सहयोगापेक्षी, सडक आश्रित मानिसहरू देखिने छैनन्’, उहाँले भन्नुभयो, ‘अब पहिलेको तुलनामा बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकविहीन, सडक आश्रित मानिस सडकमा कम हुँदै गएको छ ।’

उहाँले भन्नुभयो, ‘सडकबाट उद्दार गरिएकाहरूको औषधि–उपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५५ जना व्यक्तिहरूको उद्धार गरिसकेको छ ।’सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरूसँगको सहकार्यमा सडकबाट उद्दार गरी मानव सेवा आश्रममा ल्याउने गरिएको मानव सेवा आश्रमका संयोजक केसीले जानकारी दिनुभयो ।

प्रदेश १ सरकारले सहयोगापेक्षी सडक आश्रित मानवहरुको लागि मानव सेवा ग्राम निर्माणको पनि तयारी सुरु गरेको छ ।

सम्बन्धित खवर