मदन भण्डारीको ७५औँ जन्मजयन्ती: एमाले पथरी शनिश्चरेद्वारा माझीटोलमा विपन्न परिवारको घर निर्माण कार्य सुरु

मदन भण्डारीको ७५औँ जन्मजयन्ती: एमाले पथरी शनिश्चरेद्वारा माझीटोलमा विपन्न परिवारको घर निर्माण कार्य सुरु

पथरी ,

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीले आफ्नो वार्षिक सामाजिक कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

नगर कमिटीले प्रत्येक वर्ष मदन जयन्तीको अवसरमा गर्दै आएका रचनात्मक एवं सामाजिक कार्य अन्तर्गत यस वर्ष एक विपन्न परिवारको घर निर्माण कार्यलाई अगाडि बढाएको हो।

पार्टीले एक वर्षअघि नै गरेको घोषणाअनुसार पथरी शनिश्चरे नगरपालिका–६, माझीटोल निवासी बिन्दे माझीको घर निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू आज निर्माण स्थलमा स्थानान्तरण गरिएको छ।

नगर कमिटीका अनुसार उक्त घर निर्माणको काम भोलिदेखि निरन्तर रूपमा अगाडि बढ्नेछ। आगामी ३ देखि ४ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गरी घर परिवारलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइने एमाले पथरी शनिश्चरे नगर कमिटीले जनाएको छ।

राजनीतिलाई सामाजिक सेवा र रूपान्तरणसँग जोड्नुपर्छ भन्ने जननेता मदन भण्डारीको विचारलाई आत्मसात् गर्दै नगर कमिटीले हरेक वर्ष यस्ता जनपक्षीय र परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खवर