सेवा प्रवाहलाई आधुनिक बनाउने तयारी : पथरी शनिश्चरेको नयाँ प्रशासनिक भवन अन्तिम चरणमा

सेवा प्रवाहलाई आधुनिक बनाउने तयारी : पथरी शनिश्चरेको नयाँ प्रशासनिक भवन अन्तिम चरणमा

पथरी, पथरी शनिश्चरे नगरपालिकाले नागरिकलाई एकीकृत, व्यवस्थित र सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरिरहेको नयाँ प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

वडा नं. १० मा निर्माणाधीन पाँचतले भवनमा हाल प्लास्टरिङ, पुटिङ तथा टायल्स बिछ्याउने कार्य तीव्र गतिमा भइरहेको छ । भवन निर्माण सम्पन्नताउन्मुख भएसँगै नगरपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तयारीसमेत अघि बढाएको जनाएको छ ।

निर्माण कार्यको प्रगति तथा गुणस्तरको अवस्थाबारे जानकारी लिन आइतबार प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, इन्जिनियर हसरत अली, सन्तोष केसीलगायतको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको थियो । टोलीले निर्माणको गुणस्तर, प्रगतिदर र तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्ने विषयमा समीक्षा गरेको जनाएको छ ।

करिब ९ हजार २ सय ५२ वर्गफिट क्षेत्रफलमा फैलिएको भवन अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालमैत्री सुविधासहित निर्माण भइरहेको छ । भवन सञ्चालनमा आएपछि नगरपालिकाका विभिन्न शाखाहरू एउटै परिसरमा व्यवस्थित हुने, सेवाग्राहीको समय बचत हुने तथा प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले निर्धारित समयमै निर्माण सम्पन्न गरी भवन सञ्चालनमा ल्याउने लक्ष्यका साथ कामलाई तीव्रता दिएको जनाएको छ । नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय तहको सेवा प्रणालीलाई आधुनिक र नागरिकमैत्री बनाउने नगरपालिकाको योजनाले मूर्त रूप पाउने विश्वास गरिएको छ ।

सम्बन्धित खवर