सामुदायिक विद्यालयकाे ऐतिहासिक कीर्तिमान : एकै वर्ष कक्षा १२ र १० दुवैमा नगर टप भयाे पञ्चायत मावि

सामुदायिक विद्यालयकाे ऐतिहासिक कीर्तिमान : एकै वर्ष कक्षा १२ र १० दुवैमा नगर टप भयाे पञ्चायत मावि

पथरी। मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित सामुदायिक स्कुल पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक इतिहासमै एउटा सुनौलो र अभूतपूर्व कीर्तिमान कायम गरेको छ। हालै सार्वजनिक भएका नतिजाअनुसार यस विद्यालयले कक्षा १० (SEE) र कक्षा १२ दुवै तहको परीक्षामा एकै वर्ष नगरमै प्रथम स्थान (नगर टप) हासिल गरेर ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

नगरभित्रका सबै संस्थागत (निजी) विद्यालयलाई समेत पछि पार्दै पञ्चायत माविले दुवै महत्त्वपूर्ण बोर्ड परीक्षामा क्लिन स्विप गरेपछि यतिबेला स्थानीय स्तरमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको चौतर्फी प्रशंसा भइरहेको छ।

कक्षा १२ तर्फ सौगात र एसइईमा स्वीकृति बने नगरकै सर्वोत्कृष्ट

भर्खरै सार्वजनिक भएकाे कक्षा १२ को बाेर्ड परीक्षामा यस विद्यालयका छात्र सौगात गौतमले ३.९२ जीपीए (GPA 3.92) प्राप्त गरी सम्पूर्ण पथरीशनिश्चरे नगरमै सर्वाेत्कृष्ट नतिजासहित  प्रथम स्थान हासिल गरेका छन्। सोही परीक्षामा विद्यालयका अन्य दुई प्रतिभाशाली विद्यार्थीहरू आदित्य आचार्यले ३.८५ जीपीए र मोनिका आचार्यले ३.७५ जीपीए जस्तो उत्कृष्ट अङ्क ल्याएका छन् ।  ३.६० भन्दा माथि उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीकाे सङ्ख्या पनि उल्लेखनीय रहेकाे छ ।

त्यसाे त राष्ट्रिय परीक्षा बोर्डद्वारा नै प्रकाशित शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को परीक्षाफल विश्लेषणमा पनि पञ्चायत माविले नै ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएकाे कुरा सेलाउन नपाउँदै कक्षा १२ काे नतिजामा पनि विद्यालयले सर्वाेत्कृष्ट नतिजा ल्याएकाे छ । विद्यालयकी मेधावी छात्रा स्वीकृति निरौलाले एसइई (SEE) मा ४ जीपीए (GPA 4.0) को ‘पर्फेक्ट स्कोर’ हासिल गर्दै नगरकै सर्वोत्कृष्ट स्थान प्राप्त गरेकी छन्। यसैगरी सोही परीक्षामा विद्यालयकी अर्की छात्रा खुसी कार्कीले पनि ३.९२ जीपीए हासिल गरिन् ।

इतिहासमै पहिलो पटक यस्तो सुखद संयोग : प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी

एकै वर्ष दुईवटा ठुला बोर्ड परीक्षामा नगरकै नेतृत्व गर्न पाउँदा विद्यालय परिवारमा ऐतिहासिक उत्साह छाएको छ। यस अभूतपूर्व र लगातारको सफलताका बारेमा खुसी व्यक्त गर्दै पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले भन्नुभयो: “हाम्रो विद्यालयको इतिहासमा यो एउटा महान् र ऐतिहासिक सुखद संयोग हो। एकै वर्ष कक्षा १० र कक्षा १२ दुवै तहमा पञ्चायत माविले नगर टप गरेर एउटा अमिट कीर्तिमान रचेको छ। एसइई परीक्षामा स्वीकृति निरौलाले ४ जीपीए ल्याएर जुन कीर्तिमान रचिन्, त्यसैलाई निरन्तरता दिँदै अहिले कक्षा १२ तर्फ सौगात गौतमले ३.९२ जीपीएका साथ नगरकै शिर उच्च बनाएका छन्। यो सफलता हाम्रा लगनशील विद्यार्थीहरूको कडा मिहिनेत, सहकर्मी शिक्षकहरूको कुशल मार्गदर्शन र अभिभावकहरूको अटुट विश्वासको संयुक्त परिणाम हो।  म उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दछु र आगामी दिनमा यो प्राज्ञिक साखलाई अझ उच्च बनाउन हामी प्रतिबद्ध रहने प्रण गर्दछु।”

स्थानीय स्तरमा खुसीयाली र प्रशंसा

सामुदायिक विद्यालयहरूमध्ये जिल्लामै अग्रणी स्थानमा रहँदै आएको पञ्चायत माध्यमिक विद्यालयले भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण र शैक्षिक वातावरण दुवै दृष्टिले ठुलो फड्को मारिरहेको छ। कक्षा १० र कक्षा १२ दुवैतर्फ एकैसाथ प्राप्त भएको यस सानदार नतिजाले विद्यालयको प्राज्ञिक गरिमालाई देशव्यापी रूपमै थप उचाइमा पुर्‍याएको स्थानीय शिक्षाप्रेमी, जनप्रतिनिधि तथा बुद्धिजीवीहरूले बताएका छन्। (नगरपालिकाबाट सबै विद्यालयकाे अाधिकारिक नतिजा विवरण सार्वजनिक भएपछि पुनः समाचार अद्यावधिक गरिने छ)

सम्बन्धित खवर