मोरङ २ मा विकासे योजनाको बाढी

मोरङ २ मा विकासे योजनाको बाढी

मोरङ, मोरङ निर्वाचन क्षेत्र नं. २ मा सडक तथा पुल निर्माणका महत्वपूर्ण पूर्वाधार योजना समेटिएको भन्दै प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्कीले खुसी व्यक्त गरेका छन्।

सांसद कार्कीले सामाजिक सञ्जालमार्फत आगामी बजेट तथा कार्यक्रमअन्तर्गत मोरङ–२ का विभिन्न स्थानमा सडक स्तरोन्नति र पक्की पुल निर्माणका योजना समावेश भएको जानकारी दिएका हुन्।

उनका अनुसार सुनवर्षी(सिक्टी)-डाईनिया-अमरदह-पथरी सडक खण्ड कालोपत्रे निर्माण, पथरीशनिश्चरे–रंगेली कालोपत्रे सडक निर्माण, रतुवामाई नगरपालिका–१० को लक्ष्मीचोकदेखि पश्चिम हसन्दह जोड्ने सडक खण्डमा बक्रहा खोलामाथि पक्की पुल निर्माण, दलेली–होक्लाबारी जोड्ने चिसाङ खोलामा पक्की सडक पुल निर्माण तथा सुनवर्षीको महाराजस्थान हुँदै रतुवामाई–५ जोड्ने बक्रहा खोलामा अर्को पक्की पुल निर्माणको योजना समेटिएको छ।

सांसद कार्कीले यी योजनाले क्षेत्रको यातायात पहुँच विस्तार, आवागमन सहजता तथा स्थानीय आर्थिक गतिविधिलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले लामो समयदेखि स्थानीयवासीले उठाउँदै आएका पूर्वाधार विकासका माग क्रमशः सम्बोधन हुँदै गएको बताएका छन्।

स्थानीय तहहरूबीचको सम्पर्क विस्तार तथा वर्षायाममा हुने आवागमन समस्यालाई समाधान गर्न यी योजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। योजना कार्यान्वयनमा आएपछि मोरङ–२ का हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

सम्बन्धित खवर