पथरीमा मापसेविरुद्ध ट्राफिक प्रहरी कठोर : कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक

पथरीमा मापसेविरुद्ध ट्राफिक प्रहरी कठोर : कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक

पथरी
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षालाई ध्यानमा राख्दै पथरीमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ।

मापसे गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएपछि ट्राफिक प्रहरी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि थप कठोर बनेको हो।

पथरी ट्राफिक प्रहरी प्रमुख बाबुराम न्यौपानेका अनुसार ट्राफिक नियमको बेवास्ता गर्दै मदिरा सेवन गरी सवारी हाँक्नेहरूलाई कडा निगरानीमा राखी धमाधम नियन्त्रण र कारबाही गर्न थालिएको छ।

सवारी दुर्घटनाको मुख्य कारणमध्ये मापसे पनि एक रहेको भन्दै प्रमुख न्यौपानेले यसमा कुनै सम्झौता नगरी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
​दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विशेषगरी साँझ र रातिको समयमा चेकजाँचलाई कडा बनाएको छ। ट्राफिक प्रहरीको तथ्यांकअनुसार साँझको समयमा हुने चेकजाँचका क्रममा कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै मोटरसाइकल चालकहरू रहेका छन्। बेलुकीपख मदिरा सेवन गरेर दुईपाङ्ग्रे सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले त्यसलाई लक्षित गरी चेकिङ बढाइएको प्रहरीले जनाएको छ।


​ट्राफिक प्रहरीले सवारी चालकहरूलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। यस अभियानले रात्रिकालीन समयमा हुने सवारी दुर्घटनामा कमी आउने र सर्वसाधारणको यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर