चारपटक जनप्रतिनिधि बनेका पूर्ववडाध्यक्ष सफारी चलाउँदै: भन्छन्, ‘श्रम नै अ

चारपटक जनप्रतिनिधि बनेका पूर्ववडाध्यक्ष सफारी चलाउँदै: भन्छन्, ‘श्रम नै अ

पथरी

राजनीतिकर्मीहरू पदमा पुगेपछि भुइँतहको वास्तविकता भुल्छन् र विलासी जीवनशैली अपनाउँछन् भन्ने आम गुनासो बढिरहेका बेला, पूर्वोत्तर मोरङका एक परिचित कम्युनिष्ट नेताले भने श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

​इतिहासमा चारपटकसम्म जनप्रतिनिधि बनिसकेका र पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ का निवर्तमान वडाध्यक्ष कपिलमणि ढकाल हिजोआज प्र–१–०२–००५ ह ५२१४ नम्बरको निलो रंगको सफारी (अटो) चलाउँदै सडकमा भेटिन्छन्। नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका ५८/५९ वर्षीय ढकालको यो दैनिकीले यतिबेला स्थानीय स्तरमा धेरैको ध्यान तानेको छ।

​पञ्चायतकालको कठिन परिस्थितिदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका कीर्तिपुर निवासी ढकाल, राजकीयसत्ता र राजनीतिक जिम्मेवारीमा रहँदा पनि कहिल्यै सुकिलोमुकिलो र ठालूपनको पछि लागेनन्। जीवनको उत्तरार्धको आरम्भमा पनि उनी डटेर श्रममा लागेका छन्। बजारमा कम्युनिष्ट चरित्र र नैतिकताको खडेरी परिरहेका बेला ढकालको यो कदमलाई स्थानीयले ‘असल कम्युनिष्ट पात्र’ को जीवित दृष्टान्तका रूपमा लिएका छन्।

सफारी यात्रा: आम्दानी मात्र होइन, जनतासँगको संवाद पनि

​ढकालका अनुसार यो सफारी चलाउनु केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, बरु जनतासँग प्रत्यक्ष जोडिने र समाजको यथार्थ बुझ्ने महत्त्वपूर्ण औजार पनि हो। “छोराका लागि किनेको यो गाडी घरिघरि आफैं लिएर हिँड्छु। मेरो सम्बन्ध र सम्पर्क अलिक फराकिलो भएकोले साथीभाइहरू आइहाल्नुहुन्छ, यसबाट थप सम्पर्क र सम्बन्ध बिस्तार हुन्छ,” ढकाल भन्छन्, “बसिबियाँलो पनि भयो। दौँतरीसँग भेट हुँदा सबैखाले कुराकानी हुन्छन्। यसबाट पनि राजनीति भइरहेको छ।”

बिग्रँदो राजनीतिप्रति चिन्ता

​सफारीको स्टेरिङ सम्हाल्दै गर्दा उनी राष्ट्रिय राजनीतिको बिग्रँदो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्छन्। राजनीतिले उल्टो बाटो लिएको र यसलाई एकताबद्ध भएर सुल्टाउन जरुरी रहेको उनको बुझाइ छ। “असल अभिव्यक्ति, सकारात्मक सोच र चरित्र विकासको पक्ष समाजमा खड्कँदो छ,” ढकाल भन्छन्, “सादगी र इमानदार मानिसको अभावपूर्ति गर्न सके मात्र समाज बन्छ।”

​जातीय, लैंगिक वा वर्गीय भेदभावविरुद्ध स्पष्ट अडान राख्दै आएका उनी पछिल्लो समय समानता र न्याय सम्पादनको पक्ष ओझेल परेको महसुस गर्छन्। नेतृत्व क्षमतामा आएको ह्रास र जनतालाई प्रेरित गर्ने आधारहरू कमजोर बन्दै गएको उनको निष्कर्ष छ।

​’म त ह्याट्रिक कार्यकाल काम गरेको जनप्रतिनिधि हुँ’ भन्ने जस्ता कुनै पनि प्रकारको पदीय अहङ्कार नराखी निरन्तर श्रममा जोडिएका कपिलमणि ढकालको यो जीवनशैली आम राजनीतिकर्मी, कार्यकर्ता र समाजका लागि श्रमको सम्मान गर्न सिकाउने एउटा अनुकरणीय पाठ बनेको छ।

सम्बन्धित खवर