मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११, कर्जुनाका एक दम्पतीको एकै दिन निधन भएपछि गाउँ शोकमा डुबेको छ। स्थानीयवासी नन्दलाल कार्की (६५) र उनकी पत्नी बिमला कार्की (५८) को जेठ १५ गते एकै दिन निधन भएको परिवारले जनाएको छ।
परिवारका अनुसार नन्दलाल कार्की जेठ १४ गते बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै रहेका बेला घरमा रहेकी बिमला कार्की भने जेठ १५ गते बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्। अघिल्लो रात उनले सामान्य रूपमा खाना खाएर सुतेको परिवारजनले बताएका छन्।
श्रीमतीको निधनको खबरले परिवार शोकमा रहेका बेला सोही दिन राति करिब १० बजे उपचाररत नन्दलाल कार्कीको पनि निधन भएको जनाइएको छ। जीवनभर सुख–दुःखमा सँगै यात्रा गरेका दम्पतीले एकै दिन संसारबाट बिदा लिएपछि कर्जुना क्षेत्रमा शोकको वातावरण छाएको छ। स्थानीयवासीले उनीहरूलाई मिलनसार र समाजसेवी स्वभावका व्यक्तिका रूपमा स्मरण गरेका छन्।
दुवै जनाको पार्थिव शरीरको अन्त्येष्टि आज दिउँसो २ बजे लोहन्द्रा–लोहित गंगा घाटमा सम्पन्न गरिएक परिवारले जनाएको छ।






