नयाँ दिल्ली, कुनै समय भारतकै सबैभन्दा सफल उद्यमीमध्ये गनिएका बायजू रवीन्द्रन अहिले आर्थिक र कानुनी संकटमा फसेका छन्। भारतीय एडटेक कम्पनी BYJU’S का संस्थापक रवीन्द्रनलाई सिंगापुरको अदालतले अदालतको आदेश अवज्ञा गरेको भन्दै ६ महिनाको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कोरोना महामारीताका अनलाइन शिक्षाको माग अत्यधिक बढेपछि BYJU’S विश्वकै चर्चित शिक्षा कम्पनीमध्ये एक बनेको थियो। एक समय कम्पनीको मूल्य २२ अर्ब डलरसम्म पुगेको थियो भने रवीन्द्रनको व्यक्तिगत सम्पत्ति पनि २ अर्ब डलरभन्दा माथि पुगेको थियो।
विदेशी लगानीकर्ताहरूले कम्पनीमा अर्बौं डलर लगानी गरेका थिए। त्यसपछि कम्पनीले विभिन्न ठूला कम्पनीहरू खरिद गर्दै व्यापार विस्तार गरेको थियो। त्यतिबेला विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत बनाइएको थियो।
तर महामारीपछि विद्यार्थीहरू पुनः विद्यालय फर्किन थालेपछि अनलाइन शिक्षाको माग घट्दै गयो। आम्दानी कमजोर बन्दै गए पनि कम्पनीले खर्च नियन्त्रण गर्न सकेन। त्यसपछि कम्पनीमाथि आर्थिक अनियमितता, ऋण नतिरेको, सम्पत्ति लुकाएको तथा अदालती आदेश उल्लंघन गरेको आरोप लाग्न थालेको थियो।
केही वर्षअघिसम्म सफलताको प्रतीक मानिएका रवीन्द्रन अहिले व्यवसायिक असफलता र कानुनी विवादका कारण संकटमा परेका छन्।






