शिक्षा र खेलकुद क्षेत्रमा सुधारको जोड, २ खर्ब २२ अर्बभन्दा बढी बजेट विनियोजन

शिक्षा र खेलकुद क्षेत्रमा सुधारको जोड, २ खर्ब २२ अर्बभन्दा बढी बजेट विनियोजन

काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा व्यापक सुधार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै २ खर्ब २२ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।

अर्थमन्त्रीले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत शिक्षा क्षेत्रमा प्रविधिमैत्री प्रणाली, अनुसन्धान, सीपमूलक शिक्षा तथा खेलकुद क्षेत्रमा आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको हो।

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारलाई ध्यानमा राख्दै गणित, विज्ञान, प्रविधि तथा ‘एड टेक’ लाई नयाँ शैक्षिक आधारका रूपमा विकास गर्ने घोषणा गरेको छ। विद्यालयको राष्ट्रिय नक्साङ्कन, शैक्षिक पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण तथा एआई तत्परता मूल्याङ्कनमार्फत गुणस्तरीय शिक्षा प्रणाली निर्माण गरिने बजेटमा उल्लेख छ।

वैदेशिक रोजगारीका कारण अध्ययन रोकिएका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर प्रदान गरिने भएको छ। साथै सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ।

सरकारले अनुसन्धान तथा नवप्रवर्तनमुखी उच्च शिक्षा, सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै चिकित्सा, नर्सिङ र सूचना प्रविधि शिक्षामा कोटा वृद्धि गर्ने घोषणा गरेको छ। सुदूरपश्चिमस्थित गेटा मेडिकल कलेजमा एमबीबीएससहित चिकित्सा शिक्षा सञ्चालन गरिने भएको छ।

त्यस्तै अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयलाई नेपालमा शाखा क्याम्पस सञ्चालन गर्न कानुनी व्यवस्था गरिने तथा पारिश्रमिकसहितको इन्टर्नसिप कार्यक्रममार्फत युवालाई विश्व प्रतिस्पर्धाका लागि तयार गरिने सरकारको योजना छ। शिक्षा क्षेत्रका लागि कुल २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुदतर्फ सरकारले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। साथै ८ प्रमुख शहरमा आधुनिक क्रिकेट रंगशाला र ७ शहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ।

विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गरिने तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइने बजेटमा उल्लेख छ। खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सम्बन्धित खवर