पथरी र लेटाङमा श्रम संस्कृति पार्टीको चुनावी सरगर्मी: एमाले-कांग्रेसका जनजाती नेताहरूसँग संवाद तीव्र

पथरी र लेटाङमा श्रम संस्कृति पार्टीको चुनावी सरगर्मी: एमाले-कांग्रेसका जनजाती नेताहरूसँग संवाद तीव्र

​पथरी, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले मोरङको पथरी शनिश्चरे क्षेत्रमा आफ्नो राजनीतिक सक्रियतालाई तीव्रता दिएको छ। निर्वाचनमा मेयर, उपमेयर र अधिकांश वडा जित्ने रणनीतिक तयारीका साथ पार्टीले प्रभावशाली उम्मेदवारहरूको खोजी र संवाद सुरु गरेको छ।

​यसै क्रममा श्रम संस्कृति पार्टीले पथरीशनिश्चरे नगरमा नेकपा (एमाले) र नेपाली कांग्रेसका स्थापित आदिवासी जनजाती अनुहारका नेता तथा कार्यकर्ताहरूसँग सघन संवाद अगाडि बढाएको छ।
स्रोतका अनुसार श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति लामा पाख्रिन यतिबेला आफैं मैदानमा खटिएर अन्तर-पार्टी संवादको कमाण्ड सम्हालिरहेकी छन्। केही समयअघि मात्र पथरीको मनोहर पार्कमा अन्य पार्टीका स्थानीय प्रभावशाली नेताहरूसँग केन्द्रीय सदस्य पाख्रिन र श्रम संस्कृतिका तर्फबाट नेता अमिर मगर सहितको टोलीले गम्भीर विचार-विमर्श गरेको स्रोतको दाबी छ।

​केही समयअघि मात्रै पथरीशनिश्चरे वडा नम्बर ४ का पूर्व जनप्रतिनिधि अमर बराइली श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि पार्टी पंक्ति निकै उत्साहित बनेको छ। यही उत्साहका बीच पार्टीले पथरीशनिश्चरेमा अन्य ठूला राजनीतिक दलबाट ‘नाम चलेका’ र जनतामाझ लोकप्रिय अनुहारहरूलाई भित्र्याएर चुनावी मैदानमा उतार्ने रणनीति लिएको छ।

​ठूला र परम्परागत दलहरूभित्रको आन्तरिक असन्तुष्टिलाई उपयोग गर्दै श्रम संस्कृति पार्टीले आगामी स्थानीय निर्वाचनमा मोरङका विभिन्न स्थानीय तहमा आफ्नो बलियो उपस्थिति देखाउन अन्य दलका स्थापित नेता-कार्यकर्ता आफ्नो कित्तामा उभ्याउने गृहकार्यलाई थप तीव्र बनाउँदै लगेको देखिन्छ।

सम्बन्धित खवर