काठमाडौं‚ रातिको पौने १ बजेको समय थियो । सामान्यतः सुनसान रहने सिंहदरबार परिसरमा गएराति भने अर्थ मन्त्रालय असामान्य रूपमा व्यस्त देखिन्थ्यो । मन्त्रालय भवनका कोठाहरू अबेरसम्म उज्यालो थिए भने कर्मचारीहरू फाइल बोकेर यता र उता दौडधुप गरिरहेका थिए । कोही मोबाइल फोनमा निरन्तर संवाद गरिरहेका थिए भने कोही कागजात मिलाउन व्यस्त थिए ।
मूल भवनबाट अर्थमन्त्री स्वर्णीम वाग्लेसहित मन्त्रालयका उच्च अधिकारी र कर्मचारीहरू रात अबेर बाहिरिँदै गरेको दृश्यले आगामी बजेटको चाप स्पष्ट देखाइरहेको थियो । हरेक वर्ष जेठ १५ नजिकिँदै जाँदा सिंहदरबारभित्रको माहोल नै बदलिने गर्छ । दिनभर बैठक, छलफल र परामर्शमा व्यस्त रहने अर्थ मन्त्रालय रात परेपछि झन् बढी सक्रिय बन्ने परम्परा यसपटक पनि दोहोरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार आज जेठ १५ गते साँझ ४ बजे बजेट सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ ।
बजेट निर्माणका लागि अर्थमन्त्रीसहित मन्त्रालयका अधिकारीहरू रातभर बसेर विभिन्न शीर्षकका कार्यक्रम, राजस्व लक्ष्य, खर्च व्यवस्थापन तथा प्राथमिकता निर्धारणमा जुटिरहेका छन् । पछिल्ला दिनहरूमा मन्त्रालयमा निरन्तर छलफल, परामर्श र प्राविधिक तयारी चलिरहेको स्रोतले जनाएको छ ।
सरकारले यसपटकको बजेटमार्फत् आर्थिक सुधार, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ । बजेट सार्वजनिक हुने अन्तिम चरणमा रहँदा सिंहदरबारको चहलपहलले मुलुकको आर्थिक दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजको तयारी तीव्र बनेको संकेत दिएको छ ।






