पथरी, पथरीशनिश्चरे क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिएपछि स्थानीय समुदाय, जनप्रतिनिधि र प्रहरी प्रशासन चिन्तित बनेका छन्।
१४ वर्षका किशोरदेखि १९ वर्षका युवतीसम्म लागूऔषध प्रयोगमा संलग्न रहेको तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। इलाका प्रहरी कार्यालय पथरीले लागूऔषध प्रयोगकर्तामार्फत कारोबारी र आपूर्तिकर्तासम्म पुग्ने रणनीति अपनाएको भए पनि मुख्य कारोबारी तथा नेटवर्क सञ्चालन गर्ने व्यक्तिहरू अझै कानुनी दायरामा आउन सकेका छैनन्।
प्रयोगकर्ता पक्राउ परे पनि पछाडि रहेका मुख्य डिलरसम्म पुग्न कठिनाइ भइरहेको प्रहरी स्रोत बताउँछ। वडास्तरबाटै खोजी अभियान लागूऔषध नियन्त्रणका लागि पथरीशनिश्चरेका विभिन्न वडामा समुदायस्तरको अभियान सञ्चालन भइरहेको छ।
वडा नम्बर ४ मा गठित अभियान समितिले लागूऔषध प्रयोगकर्ताको पहिचान गरी प्रहरीलाई जानकारी गराउने अभियान थालेको छ। अभियानका संयोजक जयराम राई का अनुसार समितिका सदस्यहरूले हरेक रात गस्ती गर्दै शंकास्पद गतिविधिमाथि निगरानी गरिरहेका छन्। उक्त अभियान वडा नम्बर ७ र १० मा समेत विस्तार गरिएको छ। लागूऔषध न्यूनीकरणका लागि सुरु भएको अभियान २६ दिनदेखि निरन्तर सञ्चालनमा रहेको छ।
अभियानमा १९ वर्षदेखि ५२ वर्ष उमेर समूहका स्थानीय सहभागी छन्। समुदायको सक्रिय सहभागिताले समस्या नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ। दर्जनौं विरुद्ध मुद्दा प्रहरीले विभिन्न समयमा लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न १० जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको जनाएको छ। पक्राउ परेकामध्ये केहीको अवस्था र आवश्यकताका आधारमा पुनर्स्थापना केन्द्रमा समेत पठाइएको छ।
प्रहरीका अनुसार वैशाख २३ गते पथरीशनिश्चरे–४ बाट ट्रामाडोल र स्पास ट्याब्लेटसहित तीन जना तथा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको थियो। उनीहरूविरुद्ध जिल्ला अदालतमा लागूऔषध सम्बन्धी मुद्दा दायर भइसकेको छ। त्यसैगरी जेठ १ गते ब्राउन सुगरसहित तीन जना र ट्रामाडोल तथा स्पाससहित एक जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रयोगकर्ता होइन, मुख्य कारोबारी पक्राउ पर्ने कहिले? स्थानीयवासीको भनाइमा प्रहरीले प्रयोगकर्ता र साना तहका बिक्रेतालाई नियन्त्रणमा लिन सफल भए पनि लागूऔषध आपूर्ति गर्ने मुख्य कारोबारी र नेटवर्क सञ्चालन गर्ने व्यक्तिहरू अझै पक्राउ परेका छैनन्। त्यसैले लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्रोत, सञ्जाल र मुख्य योजनाकारसम्म पुग्नुपर्ने आवश्यकता औंल्याइएको छ।
लागूऔषधको बढ्दो प्रयोगले किशोर–किशोरीको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भीर असर पार्न सक्ने भएकाले समुदाय, परिवार, विद्यालय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने देखिएको छ। पथरीमा सुरु भएको वडास्तरीय अभियानले समस्या पहिचान र नियन्त्रणमा सहयोग पुर्याए पनि दीर्घकालीन समाधानका लागि पुनर्स्थापना, जनचेतना र मुख्य कारोबारीमाथिको कडा कारबाही अपरिहार्य देखिएको छ।






