जनप्रकाश माविद्वारा ४.० जिपिए ल्याउने जुम्लिया दिदीबहिनी सम्मानित

जनप्रकाश माविद्वारा ४.० जिपिए ल्याउने जुम्लिया दिदीबहिनी सम्मानित

कास्कीको पोखरा महानगरपालिका–२९ स्थित जनप्रकाश माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ।

विद्यालयमा अध्ययनरत जुम्लिया दिदीबहिनी दिव्या सुवेदी र दिपिका सुवेदीले सामुदायिक विद्यालयबाटै ४.० जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेपछि विद्यालयले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो।

वि.सं. २०१५ मा स्थापना भएको उक्त विद्यालयले २०४९ सालदेखि एसइई परीक्षा सञ्चालन गर्दै आएको छ। यस वर्ष एसइईमा सहभागी ८४ जना विद्यार्थीमध्ये ५८ जना उत्तीर्ण भएका थिए। तीमध्ये दिव्या र दिपिकाले उच्चतम् ४.० जिपिए ल्याउन सफल भएकोमा विद्यालयले जनही रु. २५/२५ हजार नगद, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरेको जनाएको छ।

कार्यक्रममा पाेखरा महानगरपालिका वडा नम्बर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीको मेहनत, पारिवारिक शैक्षिक वातावरण तथा शिक्षकको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए। विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले उत्तीर्ण सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रामा अझ सफल हुने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विमलबाबु न्यौपानेले गरेका थिए।

सम्मानित दिदीबहिनी दिव्या र दिपिकाले भविष्यमा स्वास्थ्य क्षेत्रमा आबद्ध भई स्वदेशमै रहेर देश र जनताको सेवा गर्ने लक्ष्य राखेको बताएकी छन्।

सम्बन्धित खवर