अर्जुन काफ्ले
पथरी
पथरीशनिश्चरे–१० का केशव कुरुम्वाङ्ग ४० र ५० को दशकका राम्रा फुटबल खेलाडी थिए । कुरुम्वाङ्ग ऐयाबारीबाट फुटबल खेल्न धरानसम्म पुग्थे । धरानको गोधुली क्लबबाट व्यावसायिक फुटबल खेलेका केशवसँग पथरीको फुटबलका धेरै सम्झनाहरू छन् । सुरुवाती दिन सम्झँदै केशव भन्छन्, ‘रहरका लागि हामी फुटबल खेल्थ्यौं, फुटबल खेलेर नै जीविकोपार्जन हुन्छ भन्ने थिएन ।’ उनको अनुभवमा फुटबल खेल शारीरिक व्यायामका लागि र मनोरञ्जनका लागि खेलिने खेल थियो । समय फेरिएको छ । आज तिनै केशवका भतिजा सञ्जीव फुटबल खेलेरै आफ्नो कमाइ गरिरहेका छन् । केशवले फुटबल खेल्दा गोधुली क्लबले गाडीभाडा र केही खाजा खाने पैसा दिने गथ्र्यो, त्यो पनि ‘सेलेक्टेड’ खेलाडीलाई । प्रतियोगिता त धेरै हुन्थे तर विजेता टोलीले रकमका रूपमा पुरस्कार पाउने चलन नै थिएन ।
केशवले पथरीकै स्थानीय क्लबबाट समेत फुटबल खेले । पुराना खेलाडीमध्येका केशवले पथरी आसपासमा बाक्लै फुटबल प्रतियोगिता हुने भए पनि व्यावसायिक रूपमा फुटबल खेलको सुरुवात भने ६० को दशकबाट मात्रै सुरु भएको बताउँछन् । भारतीय तथा बेलायती सेनामा काम गरेर फर्किएकाहरूसँग फुटबल हुने र उनीहरूकै संगतले पथरीमा फुटबल संस्कृतिको विकास भएको कुरुम्वाङ्गको भनाइ छ । सेनामा काम गरेका र उनका छोराहरूले फुटबल ल्याउने गरेको याद छ । नत्र त पहिला–पहिला मोजाको गोलाबाटै फुटबलको खेल जीवन सुरु भएको हो ।

पथरीशनिश्चरेका फुटबलरले मासिक एक लाखसम्म कमाउँछन्
सुरुवाती दिनमा खाजा र गाडीभाडामै फुटबल खेल्ने खेलाडीभन्दा अहिले समय फेरिएको छ । पथरीशनिश्चरे–९ का समिर क्षेत्री अहिले फुटबल खेलेरै महिनाको १ लाखसम्म कमाइ गरिरहेका छन् । उनी पूर्वमा आयोजना हुने प्रायः सबै प्रकारका प्रतियोगितामा सहभागी हुने गरेका छन् । गोलकिपर रहेका क्षेत्रीले एउटा खेल खेलेको १० हजारसम्म लिने गरेका छन् । राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबका सदस्य रहे पनि उनले अन्य प्रतियोगितामा भने विभिन्न क्लबको जर्सीमा मैदान उत्रिने गरेका छन् ।
उनले भने, खेल भएका समयमा त १ देखि १ लाख ५० हजारसम्म कमाइ हुने गरेको छ । सधैं खेल हुन्छ भन्ने नभए पनि चैत र वैशाखमा राम्रो कमाइ भएको छ । पूर्वमा मात्रै दैनिक प्रतियोगिता हुँदै आएका छन् । पथरी–११ फुटबल क्लबका सदस्य रहेका क्षेत्रीले भने, व्यावसायिक रूपमा पूर्ण बन्न नसके पनि फुटबलका प्रतियोगिता नियमित भए व्यावसायिक बन्न सकिन्छ ।

त्यसो त धिरेन क्षेत्री पनि दैनिक फुटबल खेलेरै कमाइ गर्ने खेलाडी हुन् । धिरेन फुटबल खेल्न नेपालका धेरै जिल्ला पुगेका छन् । ‘प्रायः खेल्न पुगेको छु, कमाइ राम्रो भएकै छ,’ धिरेनले भने, ‘पूर्ण रूपमा फुटबलमा भविष्य बनाउन सकिन्छ ।’
अहिले सञ्जय लिम्बुको व्यस्तता पनि बढ्दो नै छ । फुटबल क्लबले बोलाएपछि मैदान पुग्ने सञ्जयले पनि प्रतियोगिताको स्तर हेरेर रकम तोक्ने गरेका छन् । पहिलो र सेमिफाइनलमा एक किसिमको रकम भए पनि फाइनल वा उपाधि जितेमा थप रकम खेलाडीले पाउने सञ्जय बताउँछन् । ‘ठ्याक्कै यति त भन्न सकिँदैन तर नियमित प्रतियोगितामा सहभागी भए महिनाको १ लाखसम्म कमाइ हुने अवस्था छ,’ सञ्जयले भने, ‘फुटबल नखेल भनेर अभिभावकले भन्ने अवस्था पनि छैन, कमाइ पनि भएकै छ ।’
पथरीमा केदार एङ्देनले गरेका थिए फुटबलको सुरुवात
२०४० सालतिर केदार एङ्देनको नेतृत्वमा पहिलो पटक पथरी बजारका युवाहरू सम्मिलित गरेर पथरी फुटबल च्याम्पियन कप आयोजना भएको इतिहास पाइन्छ । यो नै पथरीको पहिलो फुटबल प्रतियोगिता भएको दाबी फुटबलका जानकारहरू बताउँछन् । पथरी–११ फुटबल क्लब स्थापना हुनुअघि नै पथरीमा धेरै क्लब स्थापना भए, केही प्रतियोगितामा सहभागी भए र ती क्लबहरूको अस्तित्व हराएर गएका छन् ।
अहिले पथरीशनिश्चरे नगरभित्र पथरी–११ फुटबल क्लब, सिरीजंगा फुटबल क्लब, यलम्बर जोरधारा, सुनौलो कल्याण, नाजरिन लगायतका क्लब विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएका छन् । ५० को अन्तिम र ६० को सुरुवाती दशकमा पथरीका भिम लिम्बुको पहिचान नगर बाहिरका फुटबल क्लबहरूमा थियो । लिम्बु फुटबल खेल्न भारतका विभिन्न सहरसम्म पुगेका थिए । त्यसपछि दीपक पुलामी, दीपक राई, साइमन लिम्बु, मिन धिमालहरू उदाए । पछिल्लो समय पथरी–११ फुटबल क्लबमा आबद्ध अधिकांश खेलाडी नेपाल र भारतमा आयोजना हुने प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
पछिल्ला दशकमा यहाँ आयोजना भइरहेका विभिन्न फुटबल प्रतियोगिताले पथरीशनिश्चरेलाई खेल गतिविधिको रूपमा मात्र नभई खेलाडी उत्पादन गर्ने थलोका रूपमा समेत परिचित गराउँदै लगेका छन् । हालै सम्पन्न राष्ट्रिय फुटबल लिगमा पथरीशनिश्चरेकै २ जना खेलाडीले माथिल्लो क्लबबाट सहभागिता जनाउनु पनि यसको उदाहरण हो ।
पथरीशनिश्चरेको खेलकुद विकासमा पथरी गोल्डकप फुटबल प्रतियोगिता एउटा ऐतिहासिक प्रयास हो । स्थानीय क्लबहरूको समन्वय, युवाको सक्रियता र नगरपालिकाको सहयोगमा आयोजित यस प्रतियोगिताले नगरको खेलकुद विकासमा ठूलो प्रभाव पारेको छ । प्रतियोगितासँगै पथरी–११ फुटबल क्लबले कोशी प्रदेशका विभिन्न स्थानमा आयोजना भएका फुटबल गोल्डकपहरूमा प्रभावशाली प्रदर्शनले समेत पथरीमा फुटबल खेलाडी उत्पादन भइरहेको देखाउँछ ।

पथरी–११ का अध्यक्ष सुमन विकका अनुसार पथरीशनिश्चरेमा राम्रा फुटबल खेलाडी भए पनि विभिन्न कारणले उनीहरूको प्रतिभा बाहिर नआउँदा ओझेलमा परेकालाई पथरी–११ ले प्रतिभा प्रस्फुटनका लागि समेत काम गरिरहेको छ ।
पथरीमा फुटबल खेलमा अहिले हेर्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका दीपक राई, सरु लिम्बु, दिपा न्यौपाने, उमेर समूहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका असिम राई, मनोज दाहालदेखि महिला फुटबलको उमेर समूहबाट राष्ट्रिय जर्सी पहिरिएका पुनम लिम्बु र आशिका कार्कीले पथरीकै नाम रोशन गरेका छन् ।
हाल पथरीशनिश्चरे नगर खेलकुद समितिका संयोजक दीपक राई रहेका छन् । सरु हाल राष्ट्रिय महिला टोलीकी भरपर्दी मिडफिल्डर हुन् । सशस्त्र प्रहरी बलको फुटबल टोलीकी नियमित सदस्य सरु हाल भारतीय क्लब किकस्टारबाट व्यावसायिक फुटबल लिग खेलिरहेकी छन् । भारतीय क्लबमा फुटबल खेल्ने सरु पथरीशनिश्चरे नगरकै पहिलो खेलाडी हुन् ।

विभागीय टोलीबाट फुटबल खेल्ने नगरको पहिलो महिला खेलाडी भने लिला लाम्गादे हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट आफ्नो खेल प्रदर्शन गरिसकेकी छन् । लिला पथरीशनिश्चरे नगरकै पहिलो महिला फुटबल खेलाडी हुन् । उनी गोलकिपरको भूमिका निर्वाह गर्थिन् ।
दिपा अहिले नेपाल प्रहरी महिला फुटबल टिममा रहेकी छन् भने नेपाली राष्ट्रिय टिमकी सदस्य हुन् । सरुले २०१६ मा मलेसियाविरुद्धको खेलमा डेब्यु गरेकी थिइन् ।

दोस्रो नेपाल सुपर लिगमा पथरीशनिश्चरेका साइमन लिम्बु धनगढी फुटबल क्लबबाट खेले । एक संस्करण मात्र नेपाल सुपर लिग खेलेका लिम्बु हाल वैदेशिक रोजगारीका लागि डेनमार्क पुगेका छन् । नेपाल सुपर लिग देशकै प्रतिष्ठित लिग हो । राष्ट्रिय लिग र ए डिभिजन लिग एन्फाले आयोजना गर्न नसकेको अवस्थामा पनि निजी क्षेत्रले एन्फाको समन्वयमा फुटबल लिग सञ्चालन गर्दै आएको छ । यो लिगमा सहभागी हुने उनी एक मात्र पथरीशनिश्चरेका फुटबल खेलाडी हुन् । उनी ए डिभिजन लिगमा समेत लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका नियमित खेलाडी थिए । उनीसँगै सन्तोष न्यौपाने चर्च ब्वाइजले लिग च्याम्पियन बन्दा क्लबका सदस्य थिए । सन्तोष अहिले पनि पूर्वमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागी भइरहेका छन् । त्यसो त मिन धिमालले चर्चित क्लब थ्री स्टारबाट दुई सिजन लिगमा सहभागिता जनाए ।
मिन समेत वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । उनी मलेसियाको नेपाली क्लब हिमालयन एफसीका नियमित सदस्य रहेका छन् । भारतको सिक्किममा आयोजना भइरहेको सिक्किम प्रिमियर लिगमा पथरीका निरोज परियार अनुबन्धित भएका छन् । उनी ब्ल्याक इगल एफसीका लागि खेल्दै आएका छन् । हाल स्थगनमा रहेको नेपाली फुटबल राष्ट्रिय लिगमा पथरीकै समिर क्षेत्री र धिरेन क्षेत्रीले प्रतिष्ठित क्लब मछिन्द्रबाट फुटबल खेल्दै आएका छन् । नेपाल प्रहरीको प्रदेश फुटबल क्लबबाट पथरीशनिश्चरेका विकास राई र प्रकाश चौहान खेल्छन् ।
पछिल्लो समय पूर्वमा हुने गोल्डकपमा सञ्जय लिम्बु, सनम धिमाल, सौर्य राउत, मञ्जील खड्का, सुबास तामाङ, युकेश तामाङ लगायतका खेलाडीले मैदानमा आफ्नो खेलको जादु प्रदर्शन गर्दै आएका छन् । पथरीशनिश्चरे महिला फुटबल क्लब समेत नगरमा सक्रिय छ ।
महिला फुटबल क्लबले झापा र मोरङमा आयोजना हुने महिला फुटबल प्रतियोगितामा ‘होम सेट’ खेलाउँदै आएको छ । पथरीशनिश्चरेकै महिला फुटबल खेलाडीले नेतृत्व गरेको यो क्लबले केराबारी र लेटाङमा आयोजना भएको फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको छ । पथरीशनिश्चरे महिला टिम स्थापना भएको धेरै वर्ष भएको छैन । ३ वर्षअघि मात्रै टिमलाई औपचारिक रूपमा सुरु गरिएको हो ।
महिला रेफ्रीका रूपमा रहेर जमुना आले मगरको सक्रियता अहिले मैदानमा देख्न सकिन्छ । सानै उमेरदेखि फुटबल खेलेकी जमुनाले कोरोना कालमा रेफ्रीको ट्रेनिङ लिएकी थिइन् । केही महिना अघि सम्पन्न महिला राष्ट्रिय फुटबल प्रतियोगितामा उनी रेफ्रीको भूमिकामा मैदानमा देखिइन् । पूर्वमा आयोजना हुने अधिकांश फुटबल प्रतियोगितामा रेफ्रीको भूमिकामा देखिने जमुना पथरीशनिश्चरे–४ निवासी हुन् ।

२ दुई सिजन पथरीशनिश्चरे गोल्डकप सम्पन्न भएको नगरमा यसै वर्ष तेस्रो पथरीशनिश्चरे गोल्डकपको तयारीमा स्थानीय फुटबल खेलाडी र शुभेच्छुकहरू जुटिरहेका छन् । पथरी शनिश्चरे नगरमा प्रस्तावित रंगशालामा दुई गोल्डकप सम्पन्न भइसकेका छन् भने तेस्रो गोल्डकप पनि असोजबाट गर्न लागिएको पथरी फुटबल क्लबका अध्यक्ष सुमन विक बताउँछन् ।
त्यसो त पथरीशनिश्चरे नगरमा सिरीजंघा च्यालेन्ज कप लगायतका फुटबल प्रतियोगिता पनि हुँदै आएका छन् । पथरीशनिश्चरे–७ को न्यु स्टार क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । कुनै समय नगरमै पहिलो पटक किर्तिपुर गोल्डकप सुरु गरेको क्लबले पछिल्लो समय भने नकआउट प्रतियोगिता आयोजना गर्दै आएको छ ।
नगर खेलकुद समितिले दुई वर्ष खेलकुद महोत्सव गरेर पथरीशनिश्चरे नगरको खेलकुद क्षेत्रमा उभार ल्याएको थियो । फुटबल, क्रिकेट, मिनी म्याराथन, कराते, भलिबल, तेक्वान्दो र बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको थियो । ती प्रतियोगितामा फुटबल क्लबस्तरीय र अन्य प्रतियोगिता वडास्तरीय भएका थिए ।
देशमा भएको परिस्थितिका कारण यस वर्ष महोत्सवलाई निरन्तरता दिन नसकेको खेलकुद विकास समितिका संयोजक दीपक राई बताउँछन् । प्रतियोगिताभन्दा पनि यस वर्ष नगर खेलकुद विकास समितिले विभिन्न क्लब र संस्थाले आयोजना गर्ने प्रतियोगितालाई सहयोग गरेको राईको भनाइ छ ।
पछिल्लो समय भेट्रान फुटबलको क्रेजसमेत नगरमा बढ्दो रहेको छ । पूर्व खेलाडीहरूबीच मेलमिलाप र भेटघाट हुने तथा फुटबलको संस्कृति बढ्ने भएकाले भेट्रान फुटबल प्रतियोगिता आयोजना हुन थालेका छन् । पथरी भेट्रान फुटबल क्लबले यस वर्ष पनि भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
त्यसो त पथरीशनिश्चरे–३ को शान्ति फुटबल क्लबले समेत दोस्रो भेट्रान कप प्रतियोगिता यसै वर्ष सम्पन्न गरेको छ । झापा र मोरङका विभिन्न क्लब सहभागी सो प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल खेलाडीको समेत सहभागिता रहेको थियो ।
वडा नम्बर २ ले नगरभरि वडाबाट प्रत्येक वर्ष विभिन्न खेलकुदका प्रतियोगिता सम्पन्न गरिरहेको छ । वडा अध्यक्ष नैना राईका अनुसार वडाका खेलाडीको क्षमता वृद्धिका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने गरिएको हो । यस वर्ष पनि फुटबल र क्रिकेटका प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको छ । त्यसो त वडा नम्बर ७ ले समेत वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । वडा नम्बर ८ ले फुटबल मैदान निर्माण सुरु गरेको छ । त्यसो त ८ नम्बर वडाले वडा भित्रका विभिन्न खेलाडीहरूको बीमा समेत गरेको छ । वडाले सुरु गरेको यो कार्य नेपालमै पहिलो हुने दाबी वडा अध्यक्ष नवीन कार्कीको रहेको छ ।
यस वर्ष नगरले २५ लाख रुपैयाँ युवा तथा खेलकुदका क्षेत्रमा बजेट छुट्याएको छ । वडागत रूपमा वडाहरूले पनि सिलिङ बजेटमा खेलकुदका लागि बजेट छुट्याएका छन् ।

वडा नम्बर १, २, ३ ले ३ लाख, ४ ले १ लाख ५० हजार, ६ ले १ लाख, ७ ले ४ लाख, ८ ले ५० हजार, ९ ले १ लाख, १० ले ७५ हजार रुपैयाँ खेलकुद शीर्षकमा यस वर्ष खर्च गर्ने गरी विनियोजन गरेसँगै यो क्षेत्रमा खेलकुद विकासका लागि थप टेवा पुग्नेछ ।
फुटबल मैदानको स्तर उन्नति
यस वर्ष नगरले कम्तीमा एउटा वडामा एक व्यायामशाला निर्माण गर्ने र नगरका खेलमैदान स्तर उन्नतिका लागि नीतिमै तय गरिएको छ । हाल पथरीको जाते मोडको रंगशाला र पथरी शरणार्थी शिविरको फुटबल मैदानमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
हिजोका दिनमा फुटबल खेल्न राम्रो मैदानको अभावका बीच पनि फुटबल खेलेका कुरुम्वाङजस्ता खेलाडीका लागि नगरका विभिन्न स्थानमा मैदान निर्माणका चरणमा रहेका छन् । बुद्ध माविको खेल मैदान र भागीरथ माविको खेल मैदान निर्माण चरणमा रहेका छन् ।
भागीरथ खेल मैदान पूर्ण सञ्चालनमा आए पूर्वका प्रतिष्ठित गोल्डकप समेत खेलाउन सकिने पथरीशनिश्चरे–४ का अध्यक्ष लोककिरण न्यौपानेको भनाइ रहेको छ । उनका अनुसार खेल मैदानका सबै काम सकिएपछि अस्थायी नै भए पनि प्याराफिट निर्माण गरेर ठूला प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।
पथरीशनिश्चरे नगरपालिकाले यो वर्ष ५० लाख विनियोजन गरेर पथरी रंगशाला स्तर उन्नति गर्ने लक्ष्य राखेको छ । तर आर्थिक वर्षको अन्त्य हुन लाग्दासमेत त्यसका लागि भने कार्य सुरु हुन सकेको छैन ।
पथरीशनिश्चरे–६ तित्रीझारमा फुटबल मैदानको निर्माण थालिएको छ । कोशी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् र वडाको बजेटमा करिब ५० लाखको बजेटबाट मैदान निर्माण सुरु गरिएको हो । यो मैदान निर्माणपछि दक्षिणी क्षेत्रका खेलाडीलाई सहज हुने रञ्जन थापा बताउँछन् ।
थापा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष रहिसकेका हुन् । पथरीशनिश्चरे नगरबाट राष्ट्रिय प्रशिक्षक बनेको इतिहास थापासँग छ । उनी लामो समय नेपाली हक्की खेलका प्रशिक्षक रहेका थिए ।
नगरमा मैदानको अभावका कारण ठूला प्रतियोगिता हुन सकेका छैनन् । पथरी बजारमा रहेको मैदानमा मात्रै केही गोल्डकप आयोजना भए पनि गाउँ भेगमा भने मैदान अभावकै कारण प्रतियोगिता आयोजना भएका छैनन् । यसका लागि नगरबाट समेत पहल हुनुपर्ने फुटबल खेलाडीहरू बताउँछन् ।
क्रिकेटमा पथरी
त्यसो त पथरीशनिश्चरे नगरभित्र क्रिकेट खेलको क्रेज उल्लेख्य रहेको छ । क्रिकेटमा पथरीको सुरुवात भारतीय सेनामा काम गरेर फर्किएका र उनका परिवार वाटै सुरु भएको हो । पथरीशनिश्चरेको हसहन्द क्षेत्रमा क्रिकेट खेल खेल्ने खेलाडी भए पनि व्यावसायिक रुपमा पथरीशनिश्चरे नगरमा क्रिकेट सुरुवात भने ६० को दशक वाट सुरु भएको पाइन्छ नगरवाट अभिषेक बिक र सुधिर बस्नेत ले उमेर समुहमा मोरङ जिल्ला टिमबाट छनौट खेल खेल्न पुगे ।
सागर कटुवाल, आर्दश कार्की, दिपेश भण्डारीले जिल्ला क्रिकेट प्रतियोगीतामा सहभागीता जनाइसकेका छन् भने आश्विन महतले प्रदेश क्रिकेट टिमबाट सहभागीता जनाइसकेका छन् । पथरीशनिश्चरे क्रिकेट क्लबले जिल्ला बी डिभिजन क्रिकेट प्रतियोगीतामा सहभागी हुदै आएको छ । क्रिकेटको लागि खेल मैदानको अभाब छ । फुटबल ग्राउण्डमै क्रिकेट प्रतियोगीता गर्नु पर्ने बाध्यता रहेको छ । क्रिकेट खेलाडी उत्पादन गर्न स्थानीय र्किपिुर एकेडेमीले खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरेको प्रशिक्षक राकेश राई बताउछन् ।
राकेशले क्रिकेटको प्रशिक्षक प्रशिक्षण लिएका छन् । महिला क्रिकेटमा भने किर्तिपुर क्रिकेट एकेडमीले उत्पादन गरेका खेलाडीले प्रदेश स्तरीय प्रतियोगीतामा मात्र नभई भारतमा समेत प्रतिष्पर्धा गरेका छन् । सुवेक्छा लिम्बू, समिक्षा राई स्मारीका गौतमले भारतको विहारमा आयोजना भएको प्रतियोगीतामा सहभागी भइसकेका छन् ।
स्मारिकाले कोशी प्रदेश टिमको प्रतिनिधित्व गर्दै भारतको सिक्किममा समेत प्रर्दशन गरिसकेकी छन् । पछिल्लो वर्ष कन्चनजघा दैविक प्रकोप व्यावस्थापन समितीले कोशी प्रदेशका क्रिकेट टिम विच च्यालेज कपको आयोजना गरेपछि भने नगरभित्र ठुला क्रिकेट प्रतियोगीता आयोजना भएका छैनन् । नगरभित्र ठुला प्रतियोगीता आयोजना नभए पनि उमेर समुहका र मैत्रीपुर्ण क्रिकेटका खेलहरु भने आयोजना भइरहेको किर्तिपुर एकेडमीका राकेश राई बताउछन् ।
भलिबल
पथरीशनिश्चरे नगरबाट भलिबल खेलमा उज्जल न्यौपाने राष्ट्रिय प्रतियोगीतामा सहभागी भएका खेलाडी हुन । उनी हाल बैदेशिक रोजगारीका क्रममा जापान पुगेका छन् । भलिबलका लागी स्थानीय रेडस्टार माविले प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । कलेज स्तरीय भएपनि भलिबल खेलाडीहरु नगरमा आउने गरेका छन् । नगर भित्र ठुला भलिवलका प्रतियोगीता आयोजना नभएपनि पथरीशनिश्चरे ३को आयोजनामा केहि महिना अघि नगरभित्र भलिबलको क्रेज वडाउन पनि प्रतियोगीता आयोजना भएको थियो । स्थानिय फाक्फेला फाङ्गफेमा भएको प्रतियोगीतामा पथरीको पञ्चायत मावीका खेलाडीहरुले उपाधी जितेका थिए ।
बुद्धिचाल
पथरीशनिश्चरे नगरमा वर्षेनी बुद्धिचाल प्रतियोगीता हुदै आएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने प्रतियोगीता पथरीशनिश्चरे नगरको खेलकुदको गौरबका रुपमा हेरिने गरेको छ । पथरीशनिश्चरे नगरमा आयोजनमा हुने बु्द्धिचाल प्रतियोगितामा त राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा रेटिङ्गका खेलाडी आउने र उनीहरुको उपभोग गर्न सके पथरीशनिश्चरेको पर्यटन र प्रचार प्रशारमा महत्वपुर्ण कार्य हुन सक्ने सरोकार वाला वताउछन् । प्रतियोगिता आयोजना गरिरहेका अध्यक्ष अमिर राईका अनुसार प्रतियोगीताको ‘हाइप’ निक्कै माथि छ यसको उपभोग सवैले गर्नु पर्दछ ।
पथरीशनिश्चरेमा ७० जना खेलाडी अन्तराष्ट्रिय फिडे रेटिङ प्राप्त खेलाडी हरु रहेका छन् । यसमा उच्च रेटिङ्ग प्राप्त खेलाडी निलम बस्नेत हुन भने महिलामा कृष्टी राई हुन् ।

पथरीशनिश्चरे नगर भित्रका वुद्धिचाल क्लबहरुको छाता समुहका रुपमा नगर वुद्धिचाल संघ रहेको छ । संघले वर्षमा २ वटा प्रतियोगीता नियमित गर्दै आएको छ । नगरपालिका भित्रका स्कुलहरु विच इन्टर स्कुल टिम चेस च्याम्पियनसिप र पथरीशनिश्चरे नगर भित्रका खेलाडीका लागी नगर च्याम्पीयनसिप । नगरवाटै राष्ट्रिय वुद्धिचाल खेलाडी उत्पादन गर्न प्रतियोगीता संन्चालन हुदै आएको संघका संस्थापक अध्यक्ष डम्बर बाछना राई वताउछन् ।
संघले आयोजना गरेको पहिलो संस्करणको नगर च्याम्पियनसिपको उपाधी निलम बस्नेतले जितेका थिए भने २०८२ को संस्करणको विजेता लोक सागर साम्बा भएका थिए । दोश्रो संस्करणबाट सुरु गरिएको फिमेल इभेन्टमा कृष्टी राईले उपाधी जित्न सफल भएकी थिइन् । त्यसो त इन्टर स्कुल को दुवै उपाधी एभरेष्ट स्कुलले जितेको थियो । स्कुल स्तरीय प्रतियोगीता चै नेपालमै पहिलो पटक आयोजना भएको दावी संघका संस्थापक अध्यक्ष राईको छ ।
राष्ट्रपति शिल्डले धानेको विद्यालय खेलकुद
विद्यालयको खेलकुदलाई चलायमान पार्ने काम भने राष्ट्रपति शिल्डले गरेको छ । रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी (छात्र, छात्रा), एथलेटिक्स (ट्र्याक) अन्तर्गत १०० देखि ३०० मिटर दौड, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट प्रतियोगितामा विद्यार्थीले प्रतिस्पर्धा गर्दै आएका छन् । २०८२ मा पञ्चायत माविमा आयोजना भएको प्रतियोगितामा ५४ वटा स्वर्ण पदकका लागि ७ सय ७० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । २०८१ मा भने सुनखरी माविमा प्रतियोगिता आयोजना भएको थियो । यो प्रतियोगिताले नगरभित्रका सामुदायिक र निजी विद्यालयको खेल क्षेत्रको एक किसिमले मापन गर्ने पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी बताउँछन् । यसले विद्यालय खेलकुदमा उभार समेत ल्याएको छ ।
ब्याडमिन्टन
नगरमा ब्याडमिन्टन खेलका लागि पथरीशनिश्चरे–१० शिविर डाँडामा एउटा कभर्ड हल निर्माण सम्पन्न भइसकेको छ । ब्याडमिन्टन खेलका प्रतिस्पर्धा नभए पनि अभ्यासका लागि कभर्ड हल निर्माण भएपछि यहाँका ब्याडमिन्टन खेलाडीलाई सहजता भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाले पछिल्लो तीन वर्षमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । नगर सभाबाट बजेट छुट्याउने, खेल सामग्री वितरण गर्ने, क्लबहरूलाई प्रोत्साहन गर्ने र मैदान सुधार गर्ने काम भइरहेको पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका संयोजक राई बताउँछन् ।
नगरपालिकाबाट पथरीशनिश्चरे–१ को प्रस्तावित पथरी रंगशालालाई स्तरीय बनाउने योजना अघि बढाइएको छ । त्यहाँ दर्शक बस्ने स्थायी प्याराफिट, कार्यक्रम गर्ने मञ्च, शौचालय र बाउन्ड्रीवाल बनाउने योजना प्रस्तावित छ । यसले मैदानको अभावलाई केही हदसम्म समाधान गर्ने नगर खेलकुद संयोजक राई बताउँछन् ।
क्रिकेट मैदानका लागि पथरीशनिश्चरे–२ वडाले समेत मैदान तयार गरेको छ । सुनझोडा खोला नजिकै रहेको अतिक्रमित भूभाग खाली गराएर प्रस्तावित क्रिकेट मैदान निर्माण सुरु गरिएको वडा अध्यक्ष नैना राई बताउँछन् ।
क्रिकेट रंगशालाका रूपमा विकास गर्न वडा कार्यालय लागिपरेको छ । यसै वर्ष क्रिकेटको पिच निर्माण गर्नुका साथै मैदान सरसफाइ र बाउन्ड्री निर्माणको काम थालिएको छ । यसै वर्ष सो मैदानमा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने लक्ष्य वडाले लिएको छ । मैदान निर्माण कार्यले यहाँका खेलाडीमा केही राहत भएको छ ।
क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भए पनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटबलका विभिन्न मैदान भए पनि क्रिकेटका लागि मैदान अभाव छ ।
क्रियाशील क्लबहरूले युवालाई व्यावसायिक बनाउने प्रयास गरेका छन् नगरको पहिचान स्थापित गर्ने काम पनि गरेका छन् । यी क्लबहरूले युवालाई संगठित बनाउने, सकारात्मक क्रियाकलापमा संलग्न गराउने र समुदायसँग जोड्ने प्रयास गरेका छन् ।
उनीहरू नै भविष्यका आयोजक, प्रशिक्षक र टुर गाइड बन्न सक्छन् । युवालाई संगठित गरेका क्लबहरूले तिनै युवालाई भविष्यमा जीविकोपार्जनका लागि गन्तव्य देखाउनु पर्ने देखिन्छ । यहाँबाट उत्पादित खेलाडीलाई भविष्यमा एकेडेमी निर्माण गरेर खेल प्रशिक्षक वा व्यवस्थापकको जिम्मेवारी दिन सकिन्छ । यसले खेलाडीलाई भविष्यमा के गर्ने भन्ने चिन्ता रहँदैन भन्ने पूर्व खेलाडी अर्जुन बस्नेतको विचार छ । पथरी ११ का प्रशिक्षक समेत रहेका बस्नेतका अनुसार मैदानको अभावबीच पनि फुटबल खेलाडी उत्पादन हुनु सकारात्मक पक्ष हो ।
पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगिता फुटबल मैदानमै आयोजना हुँदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सीएम कन्दङ्वा कप र सात संस्करणमा वीरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिता सञ्चालन भएका छन् । यी सबै प्रतियोगिता मैदान अभावमै रोकिएका छन् । कतिपय वडामा त क्रिकेट प्रशिक्षण गर्ने स्थलको अभावमा खेलाडीले सास्ती भोगिरहेका छन् ।
पुराना खेलाडीहरू ट्रफी जित्नका लागि प्रतिस्पर्धामा उत्रिने गरेका भए पनि पछिल्लो समय पथरीशनिश्चरेकै खेलाडीहरू व्यावसायिक रूपमा फुटबल खेल्न थालेका छन् । पथरीशनिश्चरे नगरभित्र हुने खेलकुद प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनसँगै पुराना पुस्ताका खेलाडीलाई हौसला मिलेको छ । जसलाई नगरले वार्षिक रूपमा खेलकुदमा लगानी गरेसँगै खेलाडी उत्पादनमा सहयोग पुग्ने निश्चित छ ।






