नगरमै सामुदायिक विद्यालयबाट मात्र ४ जिपिए
पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ०१ स्थित पञ्चायत माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल छात्रा स्वीकृति निरौलालाई विशेष सम्मान गरेको छ। परीक्षामा ४ जीपीए ल्याएर विद्यालयसँगै नगरकै नाम उँचाे बनाएकी निरौलालाई विद्यालय परिसरमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।
नेपालको विद्यालय शिक्षामा अक्षरांकन (लेटर ग्रेडिङ) प्रणाली लागू भएयता पथरीशनिश्चरे नगरभरिका समग्र सामुदायिक विद्यालयहरूबाट ४ जीपीए हासिल गर्ने स्वीकृति निरौला पहिलो विद्यार्थी बनेकी छिन्। यो ऐतिहासिक सफलताका लागि उनलाई फूलमाला, अविर र खादाका साथै नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो। विद्यालयका अनुसार स्वीकृतिको यो नतिजाले समग्र नगरकै शैक्षिक प्रतिष्ठालाई नयाँ उचाइमा पुर्याएको छ।

२०३६ सालमा स्थापित ‘नमुना विद्यालय’ को ऐतिहासिक विरासत
२०३६ सालमा स्थापना भएको यस पञ्चायत माध्यमिक विद्यालयले स्थापनाकालदेखि नै यस क्षेत्रको शैक्षिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। हाल सरकारद्वारा घोषित ‘नमुना विद्यालय’ का रूपमा सञ्चालित यस विद्यालयमा करिब ३ हजार विद्यार्थीहरू अध्ययनरत छन्।
विद्यालयले एसईईमा लगातार ऐतिहासिक सफलता कायम राख्दै आएको छ। यसै विद्यालयबाट अघिल्लो वर्षको एसईई परीक्षामा पनि अमूल्य घिमिरे र संविधान लिम्बूले ३.९६ जीपीए ल्याएर उत्कृष्ट नतिजा दर्ता गराएका थिए। यस वर्ष स्वीकृतिको ४ जीपीएले विद्यालयको ४६ वर्ष लामो इतिहासमा अर्को एउटा स्वर्णिम पाना थपेको छ।
विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख शम्भुराज थापाले खुसी व्यक्त गर्दै भन्नुभयो, “पञ्चायत माविले दिगो र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको परिणाम आज देखिएको छ। ३ हजार हाराहारीमा विद्यार्थी सङ्ख्या हुनु, स्थापनाकालदेखि नै भरोसायोग्य केन्द्र बन्नु र लगातार नगरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सक्नुले हाम्रो शिक्षण पद्धति, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगावलाई प्रमाणित गर्दछ।”
३.६ जीपीएभन्दा माथि ल्याउने थप ८ जनालाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति
सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले एसईई परीक्षामा ३.६ जीपीए वा सोभन्दा माथि अङ्क ल्याउने विद्यालयका अन्य ८ जना जेहेनदार विद्यार्थीहरूका लागि ठुलो राहतको घोषणा गर्नुभयो । ३.६ जीपीएभन्दा माथि ल्याएर सम्मानित हुने उत्कृष्ट विद्यार्थीहरूमा खुसी कार्की, कृष्ण खतिवडा, मनिष खत्री, सौभाग्य मिश्र, सुप्रिम गुरागाईँ, आर्यन बर्देवा, विश्वास थापा र डेबिड बस्नेत रहेका छन्। उनीहरूलाई विद्यालयमा सञ्चालित विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र ललितकलासहित जुनसुकै विषयसमूहमा अध्ययन गरे पनि कक्षा ११ र १२ लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिनुभयो। कार्यक्रममा स्वीकृतिसहित यी सबै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रशंसासहित सम्मान गरिएको थियो भने अन्य सफल विद्यार्थीलाइ बधाइ तथा शुभकामना दिइएकाे थियाे । साे अवसरमा विद्यालयका प्रधानाध्यापकले अर्जुनकुमार बुढाथाेकीले भन्नुभयाे ः “निरन्तर मेहनत, अनुशासन र लगनशील अध्ययनबाट नै यस्तो उत्कृष्ट सफलता हासिल गर्न सम्भव भएको हो। सामुदायिक विद्यालयबाट नगरमै पहिलो पटक ४ जीपीए हासिल हुनु आफैँमा गौरवको विषय हो। यसले अन्य विद्यार्थीहरूलाई पनि आगामी दिनमा थप मेहनत गर्ने ठुलो प्रेरणा मिल्नेछ।”
भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न
पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा स्थानीय शिक्षा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष युवराज बास्कोटा, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले पञ्चायत माविले पछिल्ला वर्षहरूमा प्राविधिक र प्राज्ञिक दुवै क्षेत्रमा हासिल गरेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरेका थिए। (केशव भारद्वाज)






