किटजन्य रोग नियन्त्रणका लागि पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

किटजन्य रोग नियन्त्रणका लागि पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा डेङ्गी, जापानीयज इन्सेफ्लाइटिस लगायत किटजन्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि सामुदायिक परिचालक र सरोकारवालाहरूलाई लक्षित गर्दै एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, लेखा अधिकृत पिताम्वर वस्ती, कार्यपालिका सदस्यहरू अन्जना दर्जी र सिता दर्जी लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै किटजन्य रोग नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले वर्षायामसँगै डेङ्गी लगायतका रोगको जोखिम बढ्ने भएकाले समयमै रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षण धनकुटाकी डा. आकांक्षा शर्माले गर्नुभएको थियो । उहाँले लामखुट्टेको जीवनचक्र, रोग संक्रमणका कारण तथा नियन्त्रणका उपायबारे जानकारी दिँदै घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले किटजन्य रोग नियन्त्रणका लागि आगामी दिनमा समुदाय केन्द्रित अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

सम्बन्धित खवर