सिंहवाहिनी माविमा २ लाखको अक्षयकोष स्थापना, समाजसेवी राई दम्पतीद्वारा रकम हस्तान्तरण

सिंहवाहिनी माविमा २ लाखको अक्षयकोष स्थापना, समाजसेवी राई दम्पतीद्वारा रकम हस्तान्तरण

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ स्थित सिंहवाहिनी माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको ‘जीतबहादुर+कला राई अक्षयकोष’ स्थापना गरिएको छ।

पथरी शनिश्चरे–१० स्थायी घर भई हाल अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका पूर्वशिक्षक जीतबहादुर राई र उहाँकी धर्मपत्नी कला राईले विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीको हितका लागि उक्त कोष स्थापना गरिदिनुभएको हो ।

रकम हस्तान्तरण तथा सम्मान

एक विशेष कार्यक्रमकाबीच राई दम्पतीले अक्षयकोषका लागि नगद २ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कठायत, वडा नं. ९ का अध्यक्ष  वीरबहादुर राई र विद्यालयका प्रधानाध्यापक उमेशकुमार खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो।

सोही अवसरमा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै राई परिवारलाई वडाध्यक्ष वीरबहादुर राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष कठायत, पूर्व विव्यस अध्यक्ष टङ्क भण्डारी र वडा नं. १० का वडा सदस्य मीना तामाङले दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कोषको परिचालन कसरी हुन्छ ?

विद्यालयका प्रधानाध्यापक उमेशकुमार खड्काका अनुसार अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याजको ८० प्रतिशत रकम विद्यार्थीहरूको वृत्तिविकास र हितमा खर्च गरिनेछ भने बाँकी २० प्रतिशत रकम अक्षयकोषमै थप गरी कोषको वृद्धि गरिने नीति लिइएको छ।

कोषदाता जीतबहादुर राईले आफूसँग धेरै पैसा भएर नभई गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षामा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यले कोष स्थापना गरेको बताउनुभयो। उहाँले यस पुनित कार्यका लागि अवसर प्रदान गरेकोमा विद्यालय परिवारप्रति आभार समेत व्यक्त गर्नुभयो।

युवा व्यवसायी खवासद्वारा सामग्री सहयोग

सोही कार्यक्रममा युवा व्यवसायी आमोस खवासले विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। खवासले विद्यार्थीहरूका लागि विद्यालय पोसाक (कपडा), स्टेसनरी सामग्री र पठनपाठनमा सहजताका लागि एक थान प्रोजेक्टर प्रदान गर्नुभएको हो। सहयोग हस्तान्तरण गरेबापत वडाध्यक्ष राईले खवासलाई सम्मान पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विपन्न विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन टेवा पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ।

सम्बन्धित खवर