पथरी/ माेरङकाे पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा, कृषि र सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बिहीबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको बैठकले विभिन्न कार्यविधि तथा मस्यौदा पारित गरेको हो ।
शिक्षा क्षेत्रमा नयाँ योजना
बैठकले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ‘उत्कृष्ट शिक्षक, प्रधानाध्यापक तथा विद्यालय छनौट कार्यविधि’ पारित गरेको छ। यसैगरी स्थानीय पहिचान र आवश्यकतालाई समेटेर तयार पारिएको कक्षा ६ र ८ को स्थानीय विषयको पाठ्यपुस्तकको मस्यौदामाथि व्यापक छलफल गर्दै त्यसलाई पारित गरिएको छ।
सामुदायिक विद्यालयहरूको अवस्था सुधारका लागि बैठकले एक अध्ययन समिति समेत गठन गरेको छ। विद्यार्थी सङ्ख्याको अनुपातअनुसार कक्षा घटुवा वा विद्यालय ‘मर्ज’ गर्नुपर्ने अवस्थाको अध्ययन गर्न वडा नं. ८ का अध्यक्ष एवम् नगर प्रवक्ता नवीन कार्कीको संयोजकत्वमा समिति बनाइएको हो। समितिका सदस्यहरूमा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्यहरू अन्जना दर्जी र मीनाकुमारी तामाङ रहनुभएको छ भने सदस्य सचिवमा शिक्षा शाखा प्रमुख नवीन खुलाल रहनुभएको छ।

कृषि र सामाजिक सबलीकरण
कृषकहरूलाई प्रोत्साहन गर्न बैठकले सिंचाइ मोटरका लागि निवेदन दिने कृषकहरूको छनौट गरेको छ। त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न र उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउन ‘अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन सुधार तथा आर्थिक सबलीकरण कार्यप्रक्रिया’ स्वीकृत गरिएको नगर प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
अन्य महत्त्वपूर्ण निर्णयहरू
साकेला पर्वलाई सहयोग: वडा नं. १ मा रहेको साकेला थानमा आयोजना हुने साकेला सिली पर्वलाई नगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ।
मन्त्रालयलाई धन्यवाद: नगरपालिकाको माग बमोजिम पथरी शनिश्चरेमै मालपोत तथा नापी कार्यालय सञ्चालन गर्न अनुमति प्रदान गरेकोमा संघीय मन्त्रालयलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ।
नगरपालिकाले यी निर्णयहरूसँगै स्थानीय सेवा प्रवाह र विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। (केशव भारद्वाज)






