पूर्वप्रअ बुद्धिनाथ अधिकारीकाे नयाँ व्यावसायिक यात्रा
पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मुख्य व्यापारिक केन्द्र पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’ होलसेल तथा खुद्रा पसल सञ्चालनमा आएको छ।
आज बिहान आयोजित औपचारिक उद्घाटन समारोहमा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले पसलको उद्घाटन गर्नुभयो। पण्डित केवल कृष्ण अधिकारीको वैदिक मन्त्रोच्चारण तथा पूजाआजासहित तीन कन्याको उपस्थितिमा रिबन काटी पसलको शुभारम्भ गरिएको थियो । ट्रेडर्सकाे सञ्चालनसँगै पञ्चायत मावि (पथरीशनिश्चरे १, माेरङ) का पूर्व सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारीकाे नयाँ व्यावसायिक यात्रा सुरू भएकाे छ ।

पसल सञ्चालक बुद्धिनाथ अधिकारीका अनुसार यस प्रतिष्ठानले ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदै गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ। पसलमा विभिन्न प्रकारका घरायसी लगेज तथा झोला, स्तरीय प्रसाधन सामग्री र अन्य विविध घरायसी वस्तुहरू होलसेल तथा खुद्रा दुवै मूल्यमा पाइनेछन्।

“होलसेल तथा खुद्रा दुवै मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले यो व्यवसाय सुरु गरेका हौँ,” सञ्चालक अधिकारीले बताउनुभयो।
नयाँ पसल सञ्चालनको अवसरमा वैशाख ३० गतेसम्म विशेष छुट प्रदान गरिने घोषणा पनि गरिएको छ। यसका साथै सामान खरिद गर्ने ग्राहकका लागि भाग्यशाली उपहार योजना पनि रहेको र उक्त चिट्ठाकाे नतिजा केही दिनपछि सार्वजनिक गरिने अधिकारीले जानकारी दिनुभयो।

स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रमले पथरी बजारको व्यावसायिक चहलपहललाई थप गति दिने अपेक्षा गरिएको छ । सञ्चालक अधिकारीले भर्खरै भएकाे प्रतिनिधिकाे सभाकाे निर्वाचनकाे समयताका शिक्षण पेसा छाडेर सक्रिय समाजसेवामा लाग्दै अहिले व्यावसायिक यात्रा सुरू गर्नुभएकाे हाे ।






