काठमाडौं, संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो।
न्यायपालिकाको इतिहासमै पहिलो पटक कानुनमा विद्यावारिधि गरेका व्यक्ति प्रधानन्यायाधीशमा सिफारिस हुनु यस नियुक्तिको ऐतिहासिक पक्ष हो। वरीयताको चौथो क्रममा रहेका डा. शर्मा मुद्दा फछ्र्यौटमा समकालीन न्यायाधीशहरूमध्ये सर्वाधिक उच्च कीर्तिमान कायम गरेका न्यायाधीश हुन्।
सर्वोच्च अदालतको तथ्याङ्क अनुसार, डा. शर्माले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१) को अवधिमा ७ हजार ३ सय ८८ वटा मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाउनुभएको छ, जुन प्रस्तावित न्यायाधीशहरूमध्ये सर्वाधिक उच्च हो। पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २ हजार १ सय ८१ मुद्दा किनारा लगाउनुभएको छ।
सर्वोच्च अदालतमा वर्षौंदेखि थाती रहेका मुद्दाको बोझ घटाई न्याय सम्पादनमा गति दिन सक्ने नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला उहाँको यो सिफारिसलाई न्यायिक क्षेत्रमा सकारात्मक रूपमा लिइएको छ। तथापि, परिषद्का दुई सदस्यले यस निर्णयमा फरक मत भने राखेका छन्।






