पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले आयोजित नगरस्तरीय भजन कीर्तन प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार पथरी शनिश्चरे–९, महेन्द्र चोकमा उमा महेश्वर भजन कीर्तन मण्डलीको आयोजनामा उक्त प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।
नगरका आधा दर्जनभन्दा बढी भजन मण्डलीहरूको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो। सहभागी टोलीहरूले प्रस्तुत गरेका भक्तिमय भजन र साङ्गीतिक प्रस्तुतिले महेन्द्र चोकको वातावरणलाई आध्यात्मिक बनाएको थियो ।
प्रतियोगिताको नतिजा : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै दुर्गा मन्दिर भजन कीर्तन मण्डली (महेन्द्र चोक) प्रथम हुन सफल भएको छ। त्यसैगरी कृपाश्वर भजन कीर्तन मण्डली (पुलचोक) ले दोस्रो स्थान हासिल गर्दा राधाकृष्ण भजन कीर्तन मण्डली (जरायोटोल) तेस्रो स्थानमा विजयी बनेको छ।
पुरस्कार तथा सम्मान : विजेता मण्डलीहरूलाई क्रमशः नगद २ हजार ५ सय, १ हजार ५ सय र १ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो। दुर्गा भजन कीर्तन मण्डलीका अध्यक्ष गणेश गोपाल चौहानले विजयी टोलीहरूलाई बधाई दिँदै पुरस्कार वितरण गरिएको जानकारी दिनुभयो।
सांस्कृतिक संरक्षणमा जोड : हिन्दु धर्मसँग जोडिएका मौलिक कला, संस्कार र सांस्कृतिक परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सहभागीहरूले यस्ता प्रतियोगिताले स्थानीय समुदायबीच धार्मिक सद्भाव, सांस्कृतिक एकता र आपसी भाइचारालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।






