पोखरा–३३ मा कृषकलाई हाते ट्याक्टर वितरण, कृषि प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता

पोखरा–३३ मा कृषकलाई हाते ट्याक्टर वितरण, कृषि प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता

कृषकहरूको उत्पादन क्षमता वृद्धि तथा कृषि आधुनिकीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३३ ले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको छ।

वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय कृषकहरूलाई अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामचन्द्र अधिकारी ले कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउन वडा निरन्तर सक्रिय रहेको बताए।

वडाअध्यक्ष अधिकारीले यसअघि पनि विभिन्न कृषि सामग्री तथा औजारहरू वितरण गर्दै आएको उल्लेख गर्दै “एक घर एक मौरी घार” कार्यक्रमअन्तर्गत मौरीसहितका घार वितरण गरिसकिएको जानकारी दिए। साथै, युवा तथा महिलालाई लक्षित गर्दै कृषि तथा व्यवसायसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरी उनीहरूलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गरिएको उनले बताए।

“कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो। कृषकहरूको आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले भने।

वडा कार्यालयका अनुसार हाते ट्याक्टर वितरणले कृषकहरूको श्रम र समय बचत गर्नुका साथै उत्पादन वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा सहभागी कृषकहरूले आधुनिक कृषि उपकरण तथा अन्य सहयोगात्मक कार्यक्रमहरूले खेतीपाती गर्न सहज भएको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमले उत्पादन वृद्धि र आम्दानी सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

पाेखरा महानगरपालिका वडा नं. ३३ ले आगामी दिनमा पनि कृषक, युवा तथा महिलालाई लक्षित गरी कृषि तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर